काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १६२ जनाको शव फेला परेको छ।
बाढीले बगाएर ल्याएका तथा प्रभावित क्षेत्रमा भेटिएका गरी १६२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ। यस्तै धादिङमा २७, नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ तथा रसुवा र नवलपरासी (पश्चिम)मा २–२ जनाको शव फेला परेको छ।
बाढी तथा पहिरोमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा २० जना, त्रिशूली अस्पतालमा ९ जना तथा बाँकी घाइतेको ट्रमा सेन्टर, वीर अस्पताल, सैनिक अस्पताल, ग्रीन सिटी र नर्भिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन हालसम्म ३ हजार ३१८ जना प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा कार्यक्षेत्रमा परिचालित भएका छन्। हराइरहेकाहरूको खोजीका लागि सुरक्षा निकायले हेलिकोप्टर तथा पैदल टोली परिचालन गरी खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।
प्रतिक्रिया