काठमाडौं– नेपाली जनता दलले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ।
दलका कार्यकारी अध्यक्ष नवराज सुवेदीले बिहीबार जारी गरेको प्रेस वक्तव्यमा बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र नागरिकको प्रयासको प्रशंसा गरेको छ।
बाढीको लेदोमा अझै पनि मानिसहरू पुरिएको वा नदी किनारमा बगाएर ल्याइएको हुन सक्ने भन्दै उद्धार कार्य निरन्तर जारी राख्न दलले सरकारसँग आग्रह गरेको छ। उद्धार गरिएका नागरिकका लागि तत्काल खानपान, बसोबास र उपचारको उचित व्यवस्था गर्न तथा घाइतेहरूको शीघ्र उपचार सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
विपद्को समयमा राजनीतिक तथा अन्य मतभेदलाई थाती राखेर सबै पक्ष एकजुट भई राहत, उद्धार र पुनःस्थापनामा जुट्नुपर्ने दलको भनाइ छ। नेपाली जनता दलले पनि आफ्नो तर्फबाट राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा एकजुट भएर लाग्ने दृढ संकल्प व्यक्त गरेको छ।
प्रतिक्रिया