अपडेट

भोटेकोशी बाढीको कहर : रसुवाका जलविद्युत् आयोजनामा सयौं कर्मचारी सम्पर्कविहीन, उद्धारमा सकस

विहीबार, ११ भदौ २०८३, १५ : २८

काठमाडौं- भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत सयौँ कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। प्रारम्भिक विवरणअनुसार माथिल्लो त्रिशूली–१, रसुवागढी, मैलुङ खोला, रसुवा भोटेकोशी र लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदारको अवस्था अझै अज्ञात रहेको छ।

निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन छन्। उनीहरूमध्ये करिब आधा नेपाली र आधा विदेशी नागरिक रहेको बताइएको छ। आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना पनि सम्पर्कविहीन छन्। तीमध्ये आठ जना कोरियन नागरिक रहेका छन्।

त्यस्तै, आयोजनाका परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका सात जना पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। आयोजनाको हेडवर्क्स क्षेत्रमा १२ जना र पावरहाउस क्षेत्रमा २०० भन्दा बढी कर्मचारी तथा कामदार उद्धारको पर्खाइमा रहेको बताइएको छ। आयोजनास्थलबाट पहिलो चरणमा उद्धार गरिएको भन्ने अपुष्ट सूचना पनि आएको छ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन छन्। तिमुरे क्षेत्रमा रहेका तीन जनाले अग्लो स्थानमा पुगेर ज्यान जोगाएको बताइएको छ। तर, उनीहरूसँग समेत सञ्चार सम्पर्क स्थापित हुन सकेको छैन।

त्यस्तै, ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत आठ जना कर्मचारी बुधबारदेखि नै सम्पर्कविहीन छन्। उनीहरूको अवस्था बुझ्न हेलिकप्टर व्यवस्थापन गरी हवाई अवलोकन गर्ने प्रयास भइरहेको छ।

१२० मेगावाटको रसुवा भोटेकोशी आयोजनामा सिभिल ठेकेदार सिनो हाइड्रोका दुई जना सम्पर्कविहीन छन्। अन्य पाँच जना भने नजिकैको गाउँमा आश्रय लिएर बसेका छन्। उनीहरूमध्ये तीन जना चिनियाँ र दुई जना नेपाली नागरिक रहेका छन्। उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ।

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा बुधबार सुरुङभित्र थुनिएका ६० जनासँग अझै सम्पर्क स्थापित हुन सकेको छैन। उनीहरूमध्ये २५ जना स्टाफ र ३५ जना कामदार छन्। उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको छ। उद्धारका लागि विकासकर्ता कम्पनीका प्रतिनिधिले पहल गरिरहेका भए पनि हेलिकप्टरको व्यवस्था हुन नसक्दा उद्धारमा कठिनाइ भएको जनाइएको छ।

बाढीका कारण रसुवाका जलविद्युत् आयोजना तथा निर्माणस्थलमा सञ्चार सम्पर्क विच्छेद हुनुका साथै सडक तथा भौगोलिक पहुँचमा समेत समस्या भएपछि उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। यसअघि जलविद्युत् आयोजनामा फसेका केही व्यक्तिको नेपाली सेनाका हेलिकप्टरमार्फत उद्धारसमेत गरिएको छ।

विहीबार, ११ भदौ २०८३, १५ : २८

प्रतिक्रिया