काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का प्रचार विभाग प्रमुख रजमान तामाङले प्राकृतिक विपत्तिबाट प्रभावित नुवाकोट जिल्लाको स्थलगत भ्रमण पूरा गरी राजधानी फर्किएको बताएका छन्।
अस्वस्थताका बाबजुद प्रभावित क्षेत्रमा पुगेका तामाङले विपत्तिले पुर्याएको मानवीय तथा भौतिक क्षति प्रत्यक्ष देख्दा आफू अत्यन्तै दुःखी र भावुक बनेको उल्लेख गरेका छन्।
“हाम्रो इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक विपत्तिबाट प्रताडित आफ्नो जिल्ला नुवाकोटको स्थलगत भ्रमण सकेर राजधानी फर्कंदै छु। अस्वस्थताका बाबजुद प्रभावित क्षेत्रमा पुग्दा मन भारी भएको छ,” तामाङले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले मुलुकले अकल्पनीय प्राकृतिक विपत्तिको सामना गरिरहेको यो संवेदनशील घडीमा राजनीतिक आग्रह, व्यक्तिगत स्वार्थ र प्रचारभन्दा माथि उठेर पीडितको उद्धार, राहत र पुनर्स्थापनामा जुट्न सबैलाई आग्रह गरेका छन्।
“मुलुकले अकल्पनीय विपत्तिको सामना गर्नुपरेको यो घडीमा सबैले मानवीयता प्रदर्शन गरौँ,” तामाङले भनेका छन्।
उनले विपत्तिबाट प्रभावित नागरिकका लागि तत्काल राहत, सुरक्षित बसोबास, स्वास्थ्योपचार तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा राज्यका सबै निकायले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा समेत जोड दिएका छन्।
प्रतिक्रिया