बाढी-पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ मोबाइल टावर पुनः सञ्चालन

शुक्रबार, १२ भदौ २०८३, १० : ४६

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा एनसेलले आज १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ।

प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ वटा साइट पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ।

विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भई दूरसञ्चार सेवामा असर परेको थियो। ग्राहकलाई निरन्तर सेवा उपलब्ध गराउँदै उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एनसेलले प्राविधिक टोली परिचालन गरेको थियो।

एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार सम्भव भएका स्थानमा क्षतिग्रस्त फाइबर मर्मत गरेर टावर सञ्चालनमा ल्याइएको छ भने केही स्थानमा पुराना माइक्रोवेभ लिंक प्रयोग गरी नेटवर्क पुनः सञ्चालन गरिएको छ। केही क्षेत्रमा फाइबर कनेक्टिभिटी पुनःस्थापनाका लागि इन्टरनेट सेवा प्रदायकसँग समेत सहकार्य गरिएको उनले बताइन्।

बाढी तथा पहिरोका कारण बन्द भएको नेटवर्क पुनःस्थापनाका लागि एनसेलले प्राविधिक टोलीलाई हवाई तथा स्थलमार्ग दुवैबाट प्रभावित क्षेत्रमा परिचालन गरेको थियो। सरकारी निकायहरूको सहयोग र समन्वयमा टोलीहरू प्रभावित क्षेत्रमा पुगेर नेटवर्क मर्मत तथा पुनःस्थापना गर्न सफल भएको कम्पनीले जनाएको छ।

यसैबीच, आज दिउँसो १२ः४७ बजे धादिङको गल्छी क्षेत्रमा बाढीको भग्नावशेष हटाउने क्रममा फाइबर काटिएपछि थप १८ वटा साइट प्रभावित भएका थिए। एनसेलले तत्काल प्राविधिक टोली परिचालन गरी ती सबै १८ साइटसमेत पुनः सञ्चालनमा ल्याएको जनाएको छ।

विपद्को कठिन समयमा दूरसञ्चार सेवा निरन्तर सञ्चालनमा राख्नु उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहेको एनसेलले जनाएको छ। प्रभावित क्षेत्रका नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतसम्बन्धी आवश्यक समन्वय गर्न सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले नेटवर्क पुनःस्थापनालाई उच्च प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

नेटवर्क पुनःस्थापनाका क्रममा सहयोग गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा सञ्चारसम्बन्धी निकाय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, नेपाली सेना लगायत सरकारी निकायका साथै ह्वावे र जेटीईलगायत संस्थाप्रति एनसेलले आभार व्यक्त गरेको छ।

एनसेलले विपद्को यस कठिन घडीमा प्रभावित समुदायको साथमा रहँदै आवश्यकताअनुसार आफ्नो नेटवर्क तथा प्राविधिक स्रोतसाधन परिचालन गरी दूरसञ्चार सेवा यथासम्भव निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

शुक्रबार, १२ भदौ २०८३, १० : ४६

प्रतिक्रिया