काठमाडौं - रसुवा जिल्लाको विनाशकारी बाढीपछि भारतले नेपाललाई मानवीय सहायता पठाउँदै राहत प्रयासमा निरन्तर सहयोग गर्ने वाचा गरेको छ।
उक्त विपद्मा परेर बिहीवार साँझसम्म कम्तिमा ३५९ जनाको मृत्यु हुनुका साथै सयौँ बेपत्ता भएका छन्।
भारतीय विदेशमन्त्री एस जयशङ्करले "नेपालका लागि ३७.५ टन एचएडीआर [मानवीय सहायता र प्रकोप राहत] सामग्री, औषधि र खाद्य प्याकेट बोकेर दोस्रो उडान भएको" भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।
त्यसअघि नै भारतले १० टन त्यस्ता सहायता र आवश्यक औषधि पठाएको जयशंकरले जनाएका छन्।
यसैबीच नेपालका विदेशमन्त्री शिशिर खनालले २७ अगस्टमा नेपाल-तिब्बत सीमा नजिकै बाढीपछि "बेपत्ता भएका सयौँ व्यक्तिहरूमा ३०० भन्दा बढी भारतीयहरू रहेको" बताएको समाचार संस्था एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटिआई) ले लेखेको थियो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले अगस्ट २७ मा कैलाश मानसरोवर तीर्थयात्राका लागि गएका दक्षिणी तमिलनाडु राज्यका कम्तीमा २१ जना भारतीय नागरिकको उद्धार गरिएको जनाएका छन्।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट २६ मा आफ्ना नेपाली समकक्षी वालेन्द्र शाहसँग कुरा गर्दै नेपाललाई "हरसम्भव मानवीय सहयोग" प्रदान गर्ने बताएका थिए।
"हाम्रा टोलीहरूले उद्धार र राहत प्रयासहरूमा नजिकबाट समन्वय गरिरहेका छन्," मोदीले एक्समा लेखेका छन्।
भारतले नेपालमा आएको बाढीबाट उत्पन्न परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको त्यहाँका केन्द्रीय गृहमन्त्री अमित शाहले बताएका छन्।
उनले त्यहाँको न्याश्नल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)का टोलीहरू तयारी अवस्थामा नेपालसँग सीमा जोडिएका बिहार र उत्तर प्रदेशका सीमावर्ती जिल्लाहरूमा रहेको बताएका छन्।
मृतकको सङ्ख्या बढ्दो क्रममा, भोटेकोशी नदीमा फेरि बाढी 'आउन सक्ने जोखिम'
त्रिशूली बाढीको असर कम गर्न सकिने सम्भावना कति थियो, के फेरि जोखिम छ?
चीनले के गरिरहेको छ?
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अगस्ट २७ मा एक्समा एक पोस्ट लेख्दै गिरोङ-रसुवागढी सीमा क्षेत्रमा भएको विपत्तिबाट चीन "निकै दुःखी" बनेको बताउँदै दुवैतिर उल्लेख्य क्षति पुगेको बताएका थिए।
झाङले चीन "नेपालको साथमा दृढतापूर्वक उभिएको" बताउँदै चिनियाँ पक्षमा समेत उल्लेखनीय क्षति भए तापनि नेपाललाई आपत्कालीन आपूर्ति र आर्थिक सहयोगको "तत्कालै समन्वय" गरेको बताए।
उनले चीनले नेपाललाई "थप सहयोग प्रदान गर्न सक्दो प्रयास गर्ने" समेत बताए। गिरोङ चीन र नेपाललाई जोड्ने प्रमुख स्थल नाका हो।
यस विपद्लाई लिएर बेइजिङले गरिरहेका कामको जनाउ दिने क्रममा २६ अगस्टमा सीसीटीभीको सन्ध्याकालीन समाचार बुलेटिन उक्त विपत्तिमा आफ्नो देशको नेतृत्वले गरिरहेको काममा केन्द्रित थियो।
जसमा राष्ट्रपति सी जिन्पिङले बेपत्ताहरूको खोजी र उद्धार गर्न "कुनै कसर बाँकी नराख्न" निर्देशन दिएको उल्लेख छ।
बाढी प्रभावित क्षेत्रमा रहेकी बीबीसी संवाददाताले जे देखिन्
'दुई यातायात कम्पनीका मात्रै ४१ वटा यात्रुवाहक सवारीसाधन बेपत्ता'
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानका अनुसार प्रारम्भिक अनुमानमा प्रकोपग्रस्त क्षेत्रमा नेपालतर्फ लगभग १०० चिनियाँ नागरिकहरू सम्पर्कविहीन अवस्थामा रहेको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ।
ती प्रवक्ताले संयुक्त खोज र उद्धार कार्यहरू सञ्चालन गर्न चीन नेपालसँगको निकट सम्पर्क र समन्वयमा रहेको जनाएका छन्।
सरकारी पत्रिकाहरूले आफूलाई अन्तर्वार्ता दिएका कैयौँ विज्ञहरूले पहिरोको स्रोत नेपालतर्फ सीमावर्ती नदीनजिक रहेको बताएका छन्।
पानीको प्रवाह द्रुत गतिमा सिमाना क्षेत्रमा पुग्दा पूर्वचेतावनी दिने अवसर साँघुरो बनेको बताइएको छ।
भारतीय सञ्चारमाध्यमको प्रश्न- चीनको चेतावनी खै?
भूउपग्रहबाट खिचिएका तस्बिरमा नेपालमा आएको भयानक बाढीको कारण बनेको हुन सक्ने गरी एक हिमनदी फुटेको देखिन्छतस्बिर स्रोत,USGS
तस्बिरको क्याप्शन,भूउपग्रहबाट खिचिएका तस्बिरमा भयानक बाढीको कारण हुन सक्ने गरी एक हिमनदी फुटेको देखिन्छ
भारतीय सञ्चारमाध्यमहरूमा यस विपदबारे व्यापक चर्चा भयो।
कतिपय समाचार प्रस्तोताहरूले नेपालको बाढीलाई भारतका लागि एउटा ठूलो रणनीतिक जोखिम वा कमजोरीको सङ्केतका रूपमा व्याख्या गरेका छन्।
"भारत, नेपाल र चीन दुवैको तल्लो तटीय क्षेत्रमा पर्छ। प्राकृतिक विपद्हरू टार्न नसकिने हुन सक्छन्," 'सीएनएन-न्यूज १८' को कार्यक्रममा प्रस्तोता राहुल शिवशङ्करले भने।
"तर माथिल्लो तटीय क्षेत्रमा हुने गतिविधिहरूप्रति भारत तयारी नगरीकन बस्न मिल्दैन। चीनले तिब्बतका विभिन्न भागहरूमा आफ्नो विस्तार, निर्माण र पकड बलियो बनाउँदै लगेको अवस्था विशेष छ।"
एनडिटिभी को वेबसाइटमा प्रकाशित एक समाचारमा भनिएको छ: "नेपालले भोगेको सबैभन्दा खराब प्राकृतिक विपद्मध्ये एक यस घटनामा चीनबाट प्राप्त पूर्व सूचनाले मानवीय क्षति रोक्न मद्दत गर्न सक्थ्यो कि भन्ने प्रश्न उठिरहेको छ।"
एउटा प्रमुख हिन्दी दैनिक 'हिन्दुस्तान' को एक रिपोर्टमा चीनले "नेपाललाई धोका दिएको" समेत भनिएको छ।
बीबीसी न्यूज नेपाली
प्रतिक्रिया