काठमाडौं– रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा धनजनको क्षतिप्रति हिमालयन बुलियन कम्पनी लिमिटेडले दुःख व्यक्त गर्दै बाढीपीडितका लागि १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
पीडाको यस घडीमा प्रभावित परिवारको दुःखमा साथ रहेको जनाउँदै कम्पनीले मानवीय संवेदना र सहकार्यका साथ पीडितको घाउमा मलम लगाउनु सबैको साझा दायित्व भएको जनाएको छ।
नागरिकको खोज तथा उद्धार र तत्काल राहतका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २०८३ भदौ ११ गते २१ लाख रुपैयाँ सहयोग जम्मा गरेको थियो। थप ८० लाख रुपैयाँ सहयोग गर्ने घोषणासहित कम्पनीले कुल १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।
कम्पनीले उक्त सहयोग रकमको चेक २०८३ भदौ १२ गते अर्थ मन्त्रालयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ।
चेक कम्पनीका प्रतिनिधिहरू राकेशकुमार अडुकिया, रोहन अडुकिया, भीष्मप्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
कम्पनीले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा आफ्नो सहयोगले केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया