काठमाडौं- रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले ६ करोड ७५ लाख रुपैयाँ राहत रकम निकासा गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका लागि शुक्रबारसम्म उक्त रकम निकासा गरेको हो। प्राधिकरणका अनुसार निकासा भएको रकम सम्बन्धित स्थानीय तहलाई क्षतिको अवस्था र आवश्यकताका आधारमा वितरण गरिनेछ।
प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा रहेको रकम निकासा गर्ने निर्णय गरेको थियो। बाढीबाट प्रभावित स्थानीय तहलाई अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित गरी वर्गीकरण गरेर सोहीअनुसार अनुदान तथा राहत सहायता उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिकास नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिकास धादिङका बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेक गाउँपालिकास गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिका बाढीबाट प्रभावित भएका छन्।
बैठकले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट ती स्थानीय तहलाई ‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९’ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतका रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको हो।
उक्त रकम खर्च भएपछि सो बराबरको रकम अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना उपलब्ध गराउने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया