अपडेट

रसुवा बाढीः मृतकको संख्या ६२६ पुग्यो, २ हजार ४२६ बेपत्ता

शनिबार, १३ भदौ २०८३, ११ : ०४

काठमाडौं- रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको मानवीय क्षतिको संख्या बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेसम्म विभिन्न मानव अंगसहित ६२६ जनाको शव फेला परेको छ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा २३३ जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ।

बाढीमा परी २ हजार ४२६ जना अझै सम्पर्कविहीन छन्। बेपत्तामध्ये ठूलो संख्या जलविद्युत् आयोजनाका कामदारको रहेको छ। आयोजनाबाट मात्रै ९३३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ।

सुरक्षाकर्मीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना बेपत्ता छन्। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार रसुवामा ५६२, नुवाकोटमा ११५ र मकवानपुरमा ६५ जना सम्पर्कविहीन छन्।

यस्तै, ५१७ जना विदेशी नागरिक र विदेशमा बसोबास गर्ने १२७ नेपालीको अवस्था पनि अज्ञात छ। भन्सार कार्यालयका १५, अध्यागमनका ४ तथा लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि बेपत्ताको सूचीमा छन्।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार २२४ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाका ६ हजार ७५५, नेपाल प्रहरीका ४ हजार ८११ र सशस्त्र प्रहरी बलका ३ हजार ६५८ जना उद्धारमा खटिएका छन्।

हालसम्म ४ हजार ४५१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १९१ जनालाई जलविद्युत् आयोजनाका सुरुङबाट निकालिएको हो। शनिबार मात्रै ५१७ जनाको हवाई उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

विदेशी नागरिकतर्फ १२९ जनालाई सुरक्षित स्थानमा सारिएको छ। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ वटा हेलिकप्टर प्रयोग गरी ९९ उडान गरिएको छ।

बाढीमा परी घाइते भएका १०१ जनाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको उपचारका लागि सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ।
बाढीका कारण सञ्चार पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ। कुल १९८ वटा टेलिफोन टावरमा क्षति पुगेकोमा १४४ वटा मर्मतपछि सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।

सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि तीव्रता दिएको छ। रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ। १५ स्थानीय तहका लागि थप ६ करोड ७५ लाख रुपैयाँ पठाइएको छ।

हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। हेलिकप्टरमार्फत ७ उडान गरी थप राहत सामग्री तथा सञ्चार उपकरण प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।

उद्धार कार्यलाई निरन्तरता दिन इन्धनको व्यवस्थासमेत गरिएको छ। नुवाकोटका विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको प्राधिकरणले जनाएको छ।

हवाई इन्धनतर्फ ३९ हजार लिटर नुवाकोट पठाइसकिएको छ। हाल ८ हजार लिटर मौज्दात रहेको र थप ९ हजार लिटर बाटोमा रहेको प्राधिकरणले जनाएको छ।

शनिबार, १३ भदौ २०८३, ११ : ०४

प्रतिक्रिया