अपडेट

भोटेकोशी बाढी : ७३४ शव फेला, २ हजार ४९८ अझै सम्पर्कविहीन

आइतबार, १४ भदौ २०८३, १० : १२

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। विपद् व्यवस्थापन प्राधिकरणको रिपोर्टअनुसार बाढीको तीव्र बहावसँगै बगाएका शवहरू तल्लो तटीय जिल्लासम्म पुगेका छन्।

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २५९ जना छन्। त्यस्तै, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।

बाढीमा परी अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा विभिन्न सुरक्षा निकायका सुरक्षाकर्मीसमेत छन्। विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना कामदार सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ।

त्यस्तै, सम्पर्कविहीन हुनेमा ५८९ विदेशी नागरिक र उनीहरूसँगै रहेका १२७ नेपाली पर्यटन सहयोगी पनि रहेका छन्। स्थानीय प्रशासनका अनुसार रसुवाबाट ५६२ जना र नुवाकोटबाट ११५ जना बेपत्ता भएका छन्।

विपद्पछि खोज तथा उद्धारका लागि देशभर १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार टोलीले हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरेको जनाएको छ।

बाढीका कारण भोटेकोशीदेखि त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बेपत्ताको खोजी तथा शव पहिचानको काम विभिन्न जिल्लामा जारी रहेको प्राधिकरणले जनाएको छ।

आइतबार, १४ भदौ २०८३, १० : १२

प्रतिक्रिया