काठमाडौं– रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते बिहान तिब्बती क्षेत्रमा हिमपहाड फुटेर आएको विशाल बाढीबाट चीन र नेपाल दुवैतर्फ ठूलो जनधनको क्षति भएको भन्दै हार्ट क्लब नेपाल, ललितपुर जिल्ला शाखाले उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सबै पक्षसँग अपिल गरेको छ।
हार्ट क्लब नेपाल जिल्ला शाखा ललितपुरका सभापति डा.लक्षी सिंहद्वारा जारी विज्ञप्तिमा विनाशकारी बाढीमा परी स्थानीय नागरिक, नेपाली तथा विदेशी पर्यटक, शिक्षक, विद्यार्थी, किसान, सुरक्षाकर्मी तथा विद्युत् परियोजनामा कार्यरत कर्मचारीलगायत ठूलो संख्यामा मानिसको ज्यान गएको र सयौँ व्यक्ति बेपत्ता भएकाले सबै एक भएर राहत तथा पुनःस्थापना जुट्न आग्रह गरिएको छ ।
बाढीले निजी घर, बजार, सरकारी कार्यालय, विद्यालय, भन्सार कार्यालय, प्रहरी कार्यालय, बैंक, सडक, पुल तथा विभिन्न विद्युत् परियोजनामा समेत ठूलो क्षति पुर्याएको क्लबलेको भनाइ छ। विशेषगरी रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी क्षेत्रमा बाढीको प्रभाव परेको क्लबले जनाएको छ।
बाढीका कारण हजारौँ परिवार प्रभावित हुनुका साथै समग्र देश नै शोकमा रहेको भन्दै क्लबले ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय नागरिकले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै क्लबले बाढीको लेदोमा मानिसहरू पुरिएको वा नदी किनारमा बगाएर ल्याइएको हुनसक्ने सम्भावना रहेकाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ।
क्लबले उद्धार गरिएका नागरिकका लागि तत्काल खाना, बसोबास र उपचारको उचित व्यवस्था मिलाउन तथा घाइतेहरूको यथाशीघ्र उपचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।
त्यस्तै, विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतमा खटिएको नेपाल सरकार, सहयोग तथा अनुदान उपलब्ध गराउने विदेशी सरकार र गैरसरकारी संघसंस्थाप्रति क्लबले धन्यवाद व्यक्त गरेको छ।
विपद्को समयमा सबै नागरिक, नागरिक समाज, गैरसरकारी संघसंस्था, सरकारी निकाय, सामाजिक अभियन्ता तथा समाजसेवीहरू एकजुट भएर राहत, उद्धार र पुनर्स्थापनामा हातेमालो गर्नुपर्नेमा क्लबले जोड दिएको छ। साथै, आफ्ना सबै सदस्यलाई समेत एकताबद्ध भएर राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सक्रिय हुन अपिल गरेको छ।
प्रतिक्रिया