अपडेट

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय सहयोग तीव्र, भारत–चीनका सुरुङ उद्धार टोली परिचालित

आइतबार, १४ भदौ २०८३, ११ : ५५

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायले नेपाललाई उल्लेख्य सहयोग उपलब्ध गराएका छन्।

भारत र चीनले राहत सामग्रीसँगै विशेष सुरुङ उद्धार टोली, फरेन्सिक विज्ञ तथा प्राविधिक जनशक्ति नेपाल पठाएका छन्। बाढीबाट आवासीय बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल उद्धार तथा राहत कार्यमा व्यापक रूपमा परिचालित छन्।

भारतबाट ११ टन राहत सामग्री बोकेको चौथो चरणको विमान आइतबार बिहान काठमाडौं आइपुगेको छ। भारतीय दूतावासका अनुसार उक्त सामग्रीमा खोज तथा उद्धार उपकरण, कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट, सरसफाइ किटलगायत सामग्री छन्। साथै, विशेष उपकरणसहित १३ सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार टोली र मृतकको पहिचानका लागि डीएनए नमुना विश्लेषणमा सहयोग गर्ने १९ सदस्यीय फरेन्सिक विज्ञ टोली पनि नेपाल आएको छ।

भारतले यसअघि भारतीय वायुसेनाका विमानमार्फत करिब ५७ दशमलव ५ टन राहत सामग्री नेपाल पठाइसकेको छ। पहिलो दिन १० टन, दोस्रो दिन ३७ दशमलव ५ टन र त्यसपछि थप १० टन राहत सामग्रीसहित सुरुङ उद्धार निरीक्षण तथा चिकित्सा टोली नेपाल पठाइएको थियो।

त्यसैगरी, चीनको जनमुक्ति सेना वायुसेनाका दुई वटा ढुवानी विमान आपत्कालीन राहत सामग्रीसहित आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। चीनको छेन्दु शुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका विमानले पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक, प्राथमिक उपचार किटलगायत १३ हजार २०० थान सामग्रीसहित कुल ५० टन राहत सामग्री ल्याएका छन्। चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उपकरणसहित नेपाल आएका छन्।

भारत र चीनका सुरुङ उद्धार टोली प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारमा नेपाली सेनासँग प्रत्यक्ष समन्वय गरी खटिएका छन्।

पछिल्लो विवरणअनुसार शनिबार साँझसम्म प्रभावित क्षेत्रबाट हवाई तथा स्थलमार्गमार्फत ७ हजार ५१४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको छ। उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ सुरक्षाकर्मी परिचालित छन्।

बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय आर्थिक सहयोगको प्रतिबद्धता पनि बढेको छ। एसियाली विकास बैंकले पाँच मिलियन अमेरिकी डलर अनुदान तथा थप एक लाख ५० हजार डलर प्राविधिक सहायता उपलब्ध गराउने जनाएको छ। विश्व बैंकले १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारले पाँच लाख डलर र अष्ट्रेलिया सरकारले एक मिलियन अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

यसैबीच, रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट हालसम्म ६७५ वटा शव फेला परेका छन्। फेला परेका शवलाई ‘एयरटाइट ब्याग’मा राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ।

सरकारले ‘पहिचान नभएका तथा शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार शव व्यवस्थापन गरिरहेको जनाएको छ। तत्काल पहिचान हुन नसकेका शवबाट डीएनए नमुनालगायत पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखिएको छ भने परिवारले पहिचान गरेका शव सम्बन्धित परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ।

आइतबार, १४ भदौ २०८३, ११ : ५५

प्रतिक्रिया