काठमाडौं - भदौ १० गते आएको विनाशकारी बाढीले प्रभाव पारेको क्षेत्रको अनुगमनमा पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्धार तथा राहतमा कुनै कमी हुन नदिने बताएका छन् । बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका उनले स्रोतको अभाव हुन नदिने भन्दै बाढी पीडित तथा उद्धारमा खटिएका सबैलाई ढाडस दिएका छन् ।
विदुरमा उनले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर उद्धार तथा राहत वितरणमा भइरहेका कामहरूबारे जानकारी लिएका थिए । सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार र राहतमा प्रभावकारी रूपमा काम भइरहेको जानकारी दिए । उनले हराइरहेका मानिसहरूको जीवितै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर बुधबारदेखि नै काम भइरहेको र शनिबारसम्म आइपुग्दा विभिन्न जलविद्युत् परियोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको बताए ।
उद्धारका साथसाथै विस्थापितलाई अस्थायी बसोबास, खाद्यान्न र अन्य प्रकारका राहत वितरणमा पनि केन्द्रबाट काम भइरहेको जानकारी उनले दिए । सोही क्रममा उनले बाढीग्रस्त क्षेत्रमा तत्काल ‘बेलिब्रिज’ आवश्यक रहेको बताए । अर्थमन्त्री डा। वाग्लेले उद्धार, उपचार र पुनस्र्थापनामा सरकारबाट पूर्ण साथ र सहयोग रहने भन्दै कुनै पनि कुराको अभाव महसुस नगर्न र कुनै पनि खालको सहयोगका लागि निर्धक्क भएर समयमै भन्न नेपाली सेनालाई आग्रह गरे ।
प्रतिक्रिया