बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

आइतबार, १४ भदौ २०८३, १४ : २७

काठमाडौं- नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ ।

यसअघि भदौ १४ गतेसम्मका लागि उपलब्ध गराइएको निःशुल्क सेवाको अवधि थप गर्दै टेलिकमले राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन सुविधा निरन्तरता दिएको हो । प्रभावित क्षेत्रका सेवाग्राहीले निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस सुविधा प्रयोग गर्न सक्नेछन् ।

कम्पनीले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार उक्त निःशुल्क सेवा उपयोग गर्न आग्रह गरेको छ । बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत–सम्भारका लागि प्राविधिक टोली निरन्तर परिचालन गरिएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार बाढीबाट प्रभावित अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी संरचनासमेत शीघ्र सञ्चालनमा ल्याउन प्राविधिक टोली खटिरहेको कम्पनीले जनाएको छ ।

विपद्को कठिन अवस्थामा निःशुल्क दूरसञ्चार सेवाले प्रभावित क्षेत्रका नागरिकलाई आफन्तजनसँग सम्पर्क कायम गर्न तथा उद्धार र राहतसम्बन्धी समन्वयमा समेत सहयोग पुग्ने नेपाल टेलिकमको विश्वास छ ।

आइतबार, १४ भदौ २०८३, १४ : २७

प्रतिक्रिया