अपडेट

यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

सोमबार, १५ भदौ २०८३, १० : ०८

काठमाडौं– भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनमा बहाव सामान्य अवस्थामा रहे पनि प्रभावित तथा नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीलगायत प्रमुख नदी तथा तिनका सहायक नदीहरूमा पनि बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।

तर आगामी तीन दिनमा देशका विभिन्न नदी तथा जलाधारमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। कोशी जलाधारका सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशीमा बहाव बढ्नेछ। नारायणी जलाधारका नारायणी, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी तथा त्रिशूली नदीको बेत्रावती क्षेत्रमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ।

त्यस्तै कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदीमा पनि जलसतह बढ्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर आसपासका साना नदीमा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

नुवाकोट र रसुवामा भने विशेष सतर्कता आवश्यक रहेको छ। यी दुई जिल्लाबाट बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले नदी तथा खोलानाला आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

भोटेकोशी बाढीको ताजा क्षति र जोखिमलाई ध्यानमा राख्दै नदी किनार, तटीय बस्ती तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले जलसतह बढेको अवस्थामा तत्काल सुरक्षित स्थानतर्फ जान र सम्बन्धित निकायको सूचना पालना गर्न आवश्यक देखिन्छ।

सोमबार, १५ भदौ २०८३, १० : ०८

प्रतिक्रिया