काठमाडौं - रसुवा बाढीका कारण थुनिएका वा पुरिएका जलविद्युत् आयोजनाको सुरुङ वा टनेलमा फसेकाहरूको अवस्था अहिलेसम्म थाहा हुन नसके पनि उनीहरुको जीतिै उद्धार हुने आशा गरिएको छ ।
आइतबार भारतीय टोली आएपछि नेपाली सेनासँग संयुक्त रूपमा उद्धारको काम सुरु गरेका थिए । सो क्रममा चिलिमे सुरुङको १०० मिटर भित्रबाट दुईवटा शव निकालिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।
उनका अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्याएपछि अब उद्धारकर्ताको ध्यान सुरुङभित्र केन्द्रित भएको छ । बाढी आएको पाँच दिनपछि नेपाली सेना, भारतीय तथा चिनियाँ सुरुङ उद्धार विशेषज्ञसहितका टोली प्रभावित आयोजनामा पुगेका हुन् । कतिपय सुरुङको प्रवेशद्वार नै पहिरो र लेदोले पुरिएका छन् भने कतिपयमा सयौं मिटरभित्र कामदार तथा प्राविधिक फसेको अनुमान छ ।
उद्धार टोलीले आइतबारदेखि चिलिमे, अपर त्रिशूली–१ र लाङटाङलगायत आयोजनामा काम थालेका हुन् । यसक्रममा चिलिमेको सुरुङमा प्रवेश गरेर नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले दुई शवसमेत निकालेको हो । सुरुङभित्र अझै मानिस रहेको हुनसक्ने भएकाले खोजी जारी छ ।
सम्पर्कविहीन र सुरुङभित्र फसेका मानिसको एउटै संख्या रहेको छैन । ८९८ जना सम्पर्कविहीन भएको इप्पानको पछिल्लो विवरणमा सतहमा रहेका कामदार र कर्मचारीसमेत पर्छन् । तीमध्ये माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’, लाङटाङ र चिलिमेजस्ता आयोजनामा मात्रै सुरुङभित्र फसेका मानिसको संख्या ठुलो छ ।
सुरुङ उद्धारमा नेपालको प्राविधि, क्षमता र उपकरण सीमित देखिएपछि भारत र चीनबाट विशेषज्ञ टोली ल्याइएको हो । भारतीय टोलीमा चिकित्सक, प्यारामेडिक्स तथा सुरुङ इन्जिनियरसहितका विशेषज्ञ छन् । अर्को भारतीय सैन्य टोलीसमेत उद्धारमा परिचालन भएको छ । चिनियाँ सुरुङ विशेषज्ञ टोलीलाई २१६ मेगावाटको माथिल्लो त्रिशूली–१मा खटाइएको छ ।
चिलिमेमा भारतीय र नेपाली सेनाको संयुक्त टोलीले सुरुङभित्र करिब १०० मिटर प्रवेश गरेर दुई शव निकालेको छ । त्यसअघि माउन्टेनियरिङ रेस्क्यु विज्ञको टोलीले सुरुङभित्र गएर छातीसम्म लेदो भरिएको र विशेष उपकरणबिना अगाडि बढ्न नसकिने अवस्था रहेको जानकारी दिएको थियो ।
पाँच दिनसम्म उद्धार हुन नसक्दा सुरुङभित्र फसेकाहरूको अवस्थाबारे परिवारमा चिन्ता बढेको छ । तर, सुरुङभित्र हावा पु¥याउने प्रयास, प्रवेशमार्ग पत्ता लगाउने काम र विशेषज्ञ टोलीको परिचालनले उद्धारको आशा पनि बढाएको छ ।
यद्यपि, उद्धारमा भएको ढिलाइप्रति प्रश्न पनि उठेको छ । बाढीपछि चार दिनसम्म सुरुङमा फसेकाको उद्धार प्रभावकारी रूपमा सुरु हुन नसकेको र विदेशी विशेषज्ञ टोली पाँच दिनपछि मात्रै फिल्डमा पुगेको भन्दै विज्ञ तथा आयोजना सञ्चालकहरूले चिन्ता व्यक्त गरेका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले भारत र चीनबाट केही घण्टामै विशेषज्ञ र उपकरण ल्याउन सकिने अवस्था हुँदाहुँदै ढिलाइ भएको बताएका छन् ।
‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको छ । साथै चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज गरिसकेको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सरकारले घटना लगत्तै अन्तराष्ट्रिय उद्धार टोलीलाई उद्धारको लागि अनुमति दिएको भए परिणाम अझ छिटो आउने थियो भन्ने विश्लेषण हुन थालेको छ । सामान्य अवस्थामा स्वाभिमान ठूलो भए पनि विपत्तिमा जीवन ठूलो हुन्छ भन्ने कुरा सरकारले अवश्य पनि बुझेकै हुुनपर्दछ ।
प्रतिक्रिया