काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट व्यवस्थापनका लागि सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री शाहले सोमबार बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत तथा समग्र व्यवस्थापनको अवस्थाबारे सुरक्षा निकायका प्रमुखबाट जानकारी लिन थालेका हुन् ।
यसक्रममा प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा हालसम्म सञ्चालन गरेका खोज तथा उद्धार, राहत वितरण र व्यवस्थापनका कामबारे ब्रिफिङ लिएका छन् । प्रधान सेनापति सिग्देलले बाढीपछिको अवस्थाका साथै उद्धार तथा राहतका लागि सेनाबाट भइरहेका प्रयासबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
प्रधान सेनापतिसँगको छलफलपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार र राहत कार्यबारे ब्रिफिङ लिने कार्यक्रम रहेको छ । त्यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि सोमबार नै भेट गरी बाढीपछिको अवस्था, खोज तथा उद्धार र व्यवस्थापनका विषयमा जानकारी लिने तयारी गरिएको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवालगायत प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी खोज तथा उद्धार एवं राहतका काम जारी छन् ।
प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायका प्रमुखबाट प्राप्त जानकारीका आधारमा प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन दिने बताइएको छ ।
प्रतिक्रिया