सेयर बजार

नेप्से ४३ अंकले घट्यो, साढे ३ अर्बमा सीमित कारोबार

सोमबार, १५ भदौ २०८३, १५ : २१

काठमाडौं– साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत साता करिब साढे २ प्रतिशतले घटेको नेप्से परिसूचक आज एकैदिन झण्डै २ प्रतिशतले घटेको हो ।

आज कारोबार बन्द हुँदा नेप्से परिसूचक ४३ दशमलव ८९ अंकले घटेर २ हजार ५१३ दशमलव ४२ विन्दुमा झरेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ७१ प्रतिशतको गिरावट हो ।

आज कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ । कुल २५३ कम्पनीको सेयर मूल्य घट्दा २१ कम्पनीको मात्रै मूल्य बढेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६८ अंकले घटेर ४४४ दशमलव २४ विन्दुमा पुगेको छ । कारोबारमा रहेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक घटेको छ भने एउटा उपसमूहको मात्रै परिसूचक बढेको छ ।

नेप्सेमा उच्च गिरावट आए पनि कारोबार रकम भने साढे ३ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । आज ३४७ कम्पनीका ९३ लाख ८ हजार २२५ कित्ता सेयर ६८ हजार १५ पटक खरिद–बिक्री हुँदा कुल ३ अर्ब ६४ करोड ११ लाख ७ हजार ४३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । समग्र बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचकले गत सातादेखिको कमजोर लयलाई निरन्तरता दिएको देखिएको छ ।

सोमबार, १५ भदौ २०८३, १५ : २१

प्रतिक्रिया