काठमाडौं– राष्ट्रिय विपद् प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग गरेको छ।
शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै ग्रुपले बेपत्ता भएकाहरूको सकुशल फिर्ताको कामना गरेको छ।
यसैगरी, उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा सरकारी अधिकारीप्रति शंकर ग्रुपले आभार व्यक्त गरेको छ।
ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकको अस्थायी आश्रयका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराएको जनाएको छ।
राष्ट्रिय संकटका बेला सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै शंकर ग्रुपले आगामी दिनमा पनि राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया