समाचार टिप्पणी

रसुवा बाढीपहिरोको असर : दैनिक उपभोग्य वस्तुको चर्को मूल्यवृद्धिले सकसमा उपभोक्ता

बुधबार, १७ भदौ २०८३, ०९ : २४


काठमाडौं - भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको प्रभाव नागरिकको जनजीवनमा देखिन थालेको छ । बाढीकै प्रभावको कारण काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ। काठमाडौं उपत्यकाको लाइफलाइनका रूपमा रहेको नागढुंगा–मुगलिन खण्डको कृष्णभिरस्थित सडक त्रिशूलीको बाढी कटानले भासिएको छ।

उपत्यका भित्रिने र बाहिरिने मालवाहक गाडी आइतबारदेखि ठप्प हुँदा उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली प्रभावितसँगै मूल्यवृछिद्ध भएको हो। उपत्यकामा खाना पकाउने ग्यासको पनि अभाव छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित कृष्णभिर त्रिशूली नदीले कटान गर्दा सडक भासिन पुगेको हो। सडक भासिएपछि वैकल्पिक मार्गबाट मालवाहक र यात्रुवाहक सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइए पनि राजमार्ग जस्तो सहज छैन।  

आपूर्ति प्रणलीमा अवरोध आउँदा उपत्यकामा खाद्यान्न, दाल, हरियो तरकारी, फलफूललगायतको मूल्य बढेको छ। पेट्रोलियम पदार्थ र एलपी ग्यास ढुवानीमा पनि समस्या देखिएको छ। वैकल्पिक मार्ग भएर ढुवानी गर्नुपर्दा लागत बढ्न गई मूल्य बढेको व्यापारीको दाबी छ।

कालीमाटी बजारमा शनिबार सात लाख ९५ हजार किलो तरकारी, फलफूल र माछा भित्रिएकोमा आइतबार एक लाख ५१ हजार किलो हाराहारी मात्र आएको छ। यो विवरण कालीमाटी तरकारी बजार व्यवस्थापन समितिको तथ्यांकमा छ।

रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण काठमाडौंमा चामल, दाललगायत खाद्यान्नको तत्कालै ठुलो अभाव हुने अवस्था नरहेको पनि एकथरी व्यवसायीले बताएका छन्।

उनीहरूका अनुसार चामलको मौज्दात दुई–तीन महिनासम्म पुग्ने र अन्य खाद्यान्न पनि एक महिनासम्मका लागि स्टक छ। यही भदौ १० गते भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि धादिङको गल्छी सडकखण्ड क्षेत्र डुबानमा पर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। अवरोध हटाएर राजमार्ग खुलाएको दोस्रो दिनमै आइतबार बाढीले कटान गर्दा कृष्णभिरस्थित सडक भासिएपछि त्यहाँबाट आवागमन ठप्प छ।

नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवालले काठमाडौंका गोदामहरूमा पर्याप्त खाद्यान्न मौज्दात रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। तीन महिनासम्म खाद्य अभाव नहुने उनको दाबी छ।

कृष्णभिरको पहिरोले काठमाडौैंको लाइफलाइन पृथ्वी राजमार्ग बन्द भएका कारण अत्यावश्यक पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले उच्च सतर्कता अपनइएको जनाएको छ।

सरकारले निजी क्षेत्रलाई विपद्का बेला खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरेको छ। विभागले बुधबार सूचना जारी गरी विपद्को कठिन समयमा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि जस्ता गैरकानुनी काम गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

  

बुधबार, १७ भदौ २०८३, ०९ : २४

प्रतिक्रिया