बाढीपीडितको राहतमा नाडाको साथ, १० लाख नगदसहित प्रभावित क्षेत्रमा राहत वितरण

आइतबार, २१ भदौ २०८३, १३ : ३७

काठमाडौं– नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले हालै केरुङ, रसुवा र टिमुरेलगायत क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी उक्त रकमको चेक हस्तान्तरण गरेको हो। नाडाले प्रदान गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने जनाएको छ।

नगद सहयोगमा मात्रै सीमित नरही नाडाले बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत सामग्रीसमेत वितरण गरिरहेको छ। नाडाको टोलीले प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा आवश्यक सामग्री वितरण गर्दै आएको जनाएको छ।

बाढीबाट प्रभावित नागरिकलाई कठिन परिस्थितिमा तत्काल राहत उपलब्ध गराउने उद्देश्यले प्रत्यक्ष मानवीय सहयोगलाई प्राथमिकता दिइएको नाडाले जनाएको छ। विपद्को समयमा प्रभावित परिवारसँग ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने नाडाको भनाइ छ।

नाडाले प्रभावित नागरिकको पीडामा साथ दिनु आफ्नो सामाजिक दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा आवश्यकताअनुसार सहयोगलाई थप निरन्तरता दिने जनाएको छ।

चेक हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा सहकोषाध्यक्ष निलमणि पाठकलगायतको उपस्थिति रहेको थियो।

आइतबार, २१ भदौ २०८३, १३ : ३७

प्रतिक्रिया