रसुवामा बाढीपछि हैजाको जोखिम, उच्च सतर्कता आवश्यक

आइतबार, २१ भदौ २०८३, १४ : ०३

काठमाडौं - भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि रसुवामा हैजा तथा अन्य पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेपछि सरकारले हैजाविरुद्धको २१ हजार डोज खोप प्रभावित क्षेत्रमा पठाएको छ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा प्राप्त खोप आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत रसुवा पुर्‍याइएको हो।

स्वास्थ्य अधिकारीहरूका अनुसार बाढीका कारण खानेपानीका मुहान, पाइपलाइन तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेपछि दूषित पानीका कारण हैजा, झाडापखाला तथा अन्य पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेको हो ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न आवश्यक खोप, औषधि, स्वास्थ्य सामग्री तथा जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्।

मन्त्रीको निर्देशनपछि प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, स्वास्थ्यकर्मी परिचालन गर्ने, रोग निगरानी बढाउने तथा सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने काम तीव्र पारिएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

बाढीपछि विस्थापित नागरिक अस्थायी शिविर तथा सामूहिक बसोबासमा रहनुपरेको अवस्थामा स्वच्छ खानेपानी, सरसफाइ र स्वास्थ्य सेवामा समस्या देखिए पानीजन्य रोग तीव्र रूपमा फैलिन सक्ने जोखिम रहन्छ।

त्यसैले प्रभावित क्षेत्रमा हैजाको सम्भावित संक्रमण रोक्न खोपसँगै पानी शुद्धीकरण, सरसफाइ, रोग निगरानी र बिरामीको शीघ्र उपचारलाई समेत समान प्राथमिकता दिनुपर्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

आइतबार, २१ भदौ २०८३, १४ : ०३

प्रतिक्रिया