बाढी-पहिरोका कारण ढुवानीमा समस्या, चेम्बरले स्थापना गर्‍यो सहजीकरण डेस्क

आइतबार, २१ भदौ २०८३, १४ : १९

काठमाडौं– विपद्का कारण देशका विभिन्न सडक सञ्जाल अवरुद्ध भई अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्तिमा समस्या देखिएपछि नेपाल चेम्बर अफ कमर्सले ‘सहजीकरण डेस्क’ स्थापना गरेको छ।

उद्योगी तथा व्यवसायीलाई अत्यावश्यक सामग्री ढुवानीमा देखिएको असहजता समाधान गर्ने उद्देश्यले चेम्बरले जमलस्थित आफ्नो सचिवालयमा सहजीकरण डेस्क सञ्चालनमा ल्याएको हो।

पृथ्वी राजमार्गलगायत महत्वपूर्ण सडक सञ्जाल अवरुद्ध हुँदा उद्योगी–व्यवसायीले राहत तथा अत्यावश्यक सामग्री ढुवानी र आपूर्तिमा कठिनाइ भोगिरहेका छन्। यस्तो अवस्थामा सामग्रीको आपूर्ति सहज बनाउन चेम्बरले सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।

सहजीकरण डेस्कमार्फत राहत तथा अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवागमनमा देखिने सम्भावित समस्या समाधानका लागि सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान तथा ढुवानी व्यवसायीसँग आवश्यक समन्वय गरिनेछ।

त्यस्तै, अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सम्भव भएसम्म सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन आवश्यक सहजीकरण गरिने चेम्बरले जनाएको छ।

विपद्का कारण आपूर्ति प्रणालीमा थप समस्या आउन नदिन तथा राहत सामग्रीको ढुवानीलाई प्राथमिकताका साथ अघि बढाउन सहजीकरण डेस्कले समन्वयकारी भूमिका निर्वाह गर्ने चेम्बरको भनाइ छ।

आइतबार, २१ भदौ २०८३, १४ : १९

प्रतिक्रिया