भोटेकोशी बाढीपीडितका लागि निर्जीवन बीमा क्षेत्रको ३ करोड ४७ लाख सहयोग

आइतबार, २१ भदौ २०८३, १४ : ०३

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि निर्जीवन बीमा क्षेत्रले ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेको छ।

नेपाल निर्जीवन बीमा व्यवसायी संघ तथा संघमा आबद्ध विभिन्न निर्जीवन बीमा कम्पनीहरूले ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका छन्। त्यसैगरी तीन बीमा कम्पनीका कर्मचारीहरूले छुट्टै २६ लाख २३ हजार १८ रुपैयाँ योगदान गरेका छन्।

संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भदौ १७ गते कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

सहयोग गर्ने कम्पनीहरूमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन्।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूले संकलन गरेको २६ लाख २३ हजार १८ रुपैयाँसमेत हस्तान्तरण गरिएको छ।

संघका अनुसार एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै बाढी प्रभावितका लागि सहयोग रकम हस्तान्तरण गरिसकेका छन्। अन्य कम्पनीहरू पनि सहयोग गर्ने प्रक्रियामा रहेको संघले जनाएको छ।

यसअघि संघको बैठकले भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको थियो। साथै, बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा मित्रराष्ट्रका उद्धारकर्ताप्रति आभार व्यक्त गरेको थियो।

बाढीबाट क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा जनधनको विवरण प्राप्त भएपछि सम्बन्धित बीमा दाबीको भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता पनि संघले जनाएको छ।

राहत तथा पुनर्निर्माणमा योगदान गर्नुका साथै विपद्बाट क्षति भएका बीमित सम्पत्ति तथा संरचनाको दाबी भुक्तानीलाई समेत प्राथमिकतामा राख्ने बीमा क्षेत्रको प्रतिबद्धताले प्रभावितलाई राहत र पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सहयोग रकम हस्तान्तरण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश संकटमा परेको समयमा बीमा कम्पनीहरूले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।

आइतबार, २१ भदौ २०८३, १४ : ०३

प्रतिक्रिया