बाढीपीडितको राहतका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

आइतबार, २१ भदौ २०८३, १४ : २७

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एभरेष्ट बैंक लिमिटेडले ३ करोड ११ लाख रुपैयाँभन्दा बढी नगद सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

बैंकका अनुसार उक्त सहयोग रकम भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रयोग हुनेछ। बैंकले नगद सहयोगसँगै प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारी निकाय, सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाले सहयोग गर्दै आएका छन्।

एभरेष्ट बैंकले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको हिस्सा भएको जनाएको छ। बैंकले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको हो।

आइतबार, २१ भदौ २०८३, १४ : २७

प्रतिक्रिया