काठमाडौं– भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
दुवै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेका हुन्। रिद्धि सिद्धि सिमेन्टले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ गरी कुल १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकर न्यौपानेले रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवारका तर्फबाट उक्त रकमको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
कम्पनीले भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
विपद्को यस कठिन समयमा प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माण सबैको साझा दायित्व भएको उल्लेख गर्दै रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवारले सरकार तथा प्रभावित नागरिकसँगै रहेको जनाएको छ।
कम्पनीले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका उद्धारकर्मी, राहतकर्मी, सुरक्षाकर्मी, प्रशासन, स्वास्थ्यकर्मी तथा सहयोगी हातहरूप्रति सम्मान तथा आभारसमेत व्यक्त गरेको छ।
प्रतिक्रिया