सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला, विद्युतीय सवारीलाई विशेष प्राथमिकता

बुधबार, ३१ भदौ २०८३, १६ : ५५

काठमाडौं– यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका बाहिर सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला गरेको छ। विभागका अनुसार आगामी असोज १ गतेदेखि लागू हुने गरी यो दर्ता प्रक्रिया खुला गरिएको हो।

दर्ता खुला गरिएका सवारीमध्ये विद्युतीय (इलेक्ट्रिक)सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई विशेष प्राथमिकता दिइने विभागले जनाएको छ।

काठमाडौं उपत्यकाभित्र भने नयाँ सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्तामा लगाइएको रोक कायमै रहनेछ। उपत्यकाको सडक तथा रुट व्यवस्थापनलाई ध्यानमा राख्दै स्कुल बस र पुराना सार्वजनिक सवारीसाधनको सट्टा भर्नाका लागि मात्र दर्ता खुला राखिएको विभागको भनाइ छ।

यसअघि विभागले गत जेठ ७ गते सार्वजनिक सवारीसाधनको पैठारी तथा दर्तामा पूर्ण रोक लगाएको थियो। त्यसपछि साउन १८ गते मालवाहक सवारीको दर्ता खुला गरिएकोमा अब असोज १ गतेदेखि उपत्यका बाहिर यात्रुवाहक सवारीको दर्ता पनि सुचारु हुन लागेको हो।

बुधबार, ३१ भदौ २०८३, १६ : ५५

प्रतिक्रिया