बाढी–पहिरोले देशभरका सडक प्रभावित, विभिन्न राजमार्गमा अवरुद्ध (सूचीसहित)

बुधबार, ३१ भदौ २०८३, ०८ : ४८

काठमाडौं- बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले बुधबार बिहान ६ बजे दिएको जानकारीअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा पूर्ण तथा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा सवारी सञ्चालनका लागि विशेष व्यवस्था गरिएको छ। भदौ १६ गतेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइने भएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरी सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।

रसुवाका मुख्य राजमार्ग भने भदौ १० गते बिहान १०ः३० बजेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। भदौ १ गतेदेखि अर्को सूचना नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकमा सवारी चलाउन नपाइने व्यवस्था गरिएको छ।

नुवाकोटकै पासाङल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।

धादिङको पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा ठप्प रहेको प्रहरीले जनाएको छ। सोही राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र शीतलबजारमा भने पहिरो पन्छाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा भदौ २२ गतेदेखि सडक मर्मतको काम भइरहेकाले सवारी चापअनुसार एकतर्फी रूपमा यातायात सञ्चालन गरिँदै आएको छ।

यता कर्णाली प्रदेशको हुम्लामा कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–६ खरीखेतमा भदौ २९ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बाढी, पहिरो तथा सडकको अवस्थाअनुसार विभिन्न स्थानमा यातायात सञ्चालनमा समय तथा मार्गसम्बन्धी प्रतिबन्ध लगाइएको जनाएको छ। यात्रुलाई सम्बन्धित सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।

बुधबार, ३१ भदौ २०८३, ०८ : ४८

प्रतिक्रिया