रसुवा बाढी : मृत्यु हुनेको संख्या १ हजार ३९९ पुग्यो, ४ हजार ८९ जना अझै बेपत्ता

मंगलबार, ३० भदौ २०८३, १२ : १३

काठमाडौं– रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३९९ पुगेको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि हालसम्म ४ हजार ८९ जना बेपत्ता छन्।

फेला परेका शवमध्ये ५४४ पुरुष, ३३६ महिला तथा ५१९ वटा आंशिक अंग रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा २ हजार ९०७ पुरुष, ५७२ महिला, २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला छन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढीमा परी घाइते भएका ९ हजार २८७ जनाको उद्धार गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३० शव व्यवस्थापन गरिएको छ।

पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका शवबाट १ हजार २८६ तथा बेपत्ता व्यक्तिका आफन्तबाट १ हजार ८८९ डीएनए नमुना संकलन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

यस्तै, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार ४४० जना रहेको प्रहरीले जनाएको छ।

मंगलबार, ३० भदौ २०८३, १२ : १३

प्रतिक्रिया