फाइल फोटो
काठमाडौं- बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको हो।
बागमती प्रदेशअन्तर्गत काभ्रे, रसुवा, नुवाकोट, धादिङ र चितवनका सडकखण्ड प्रभावित भएका छन्। काभ्रेमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको छ। उक्त सडकखण्डमा अर्को सूचना नभएसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको प्रहरीले जनाएको छ।
रसुवामा बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिम रहेकाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। विदुर नगरपालिका–१० सिमटारस्थित पासाङ ल्हामु सडकखण्डमा पनि यातायात पूर्ण रूपमा अवरुद्ध छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर क्षेत्रमा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। सोही गाउँपालिका–१० ज्वालामुखी तथा पृथ्वी राजमार्गको शीतलबजार क्षेत्रमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
चितवनको तुइनखोला क्षेत्रमा नारायणगढ–मुग्लिन सडकखण्ड मर्मत भइरहेकाले सवारीसाधनको चापअनुसार एकतर्फी यातायात सञ्चालन गरिएको छ।
यसैगरी, गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ धारापानीस्थित चामे–बेँसीसहर सडकखण्डमा साना सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।
कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ स्थित कर्णाली करिडोर पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया