आईटी विद्यार्थीलाई इन्टर्नशिप र रोजगारीको अवसर जुटाउन One Cover र Skill Spark बीच सम्झौता

सोमबार, २९ भदौ २०८३, १० : २०

काठमाडौं- आईटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा विद्यार्थीलाई व्यावहारिक सिकाइसँग जोड्ने उद्देश्यले One Cover Pvt. Ltd. र Skill Spark बीच रणनीतिक साझेदारी भएको छ।

दुवै संस्थाबीच औपचारिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो। सम्झौतासँगै One Cover, Skill Spark को आधिकारिक उद्योग साझेदारका रूपमा जोडिएको छ।

साझेदारीअन्तर्गत विद्यार्थीलाई साइबर सुरक्षा तथा नेटवर्क सुरक्षा क्षेत्रमा उद्योगको आवश्यकताअनुसार तालिम, इन्टर्नशिप र अध्ययनपछि रोजगारीका अवसरमा जोड्ने व्यवस्था गरिने जनाइएको छ।

One Cover र Skill Spark को सहकार्यबाट विद्यार्थीले साइबर सुरक्षा तथा नेटवर्क सुरक्षाका पछिल्ला प्रविधि र अभ्यासबारे सीपमूलक तालिम लिन पाउनेछन्। साथै, वास्तविक आईटी पूर्वाधार तथा सुरक्षा प्रणालीसँग नजिक रहेर काम गर्ने अवसरमार्फत व्यावहारिक अनुभव हासिल गर्ने अपेक्षा गरिएको छ।

तालिम तथा अध्ययन पूरा गरेपछि योग्य विद्यार्थीलाई करियरका अवसरसँग जोड्न प्लेसमेन्ट सहयोगसमेत उपलब्ध गराइनेछ। यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्रै सीमित नराखी उद्योगको वास्तविक आवश्यकता र कार्यक्षेत्रसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको छ।

साइबर सुरक्षा र नेटवर्क सुरक्षा क्षेत्रमा काम गर्दै आएको One Cover ले साझेदारीमार्फत विद्यार्थीलाई बजारको वास्तविक माग, प्रविधिको विकास तथा क्षेत्रका चुनौतीबारे प्रत्यक्ष अनुभव दिलाउने जनाएको छ।

दुवै संस्थाले सहकार्यबाट आईटी क्षेत्रमा दक्ष, व्यावसायिक तथा रोजगारीका लागि तयार जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

सोमबार, २९ भदौ २०८३, १० : २०

प्रतिक्रिया