काठमाडौं- भोटेकोशी बाढीपछि तातोपानी नाका बन्द हुँदा चीनसँगको कोरला नाकामा व्यापारिक चाप अस्वाभाविक रूपमा बढेको छ। दैनिक २ सयभन्दा बढी कन्टेनर नाकामा आइपुग्न थालेपछि भन्सार, सुरक्षा व्यवस्थापनदेखि सडक यातायातसम्म दबाब बढेको छ। तर, दैनिक जाँचपास भने करिब ५० कन्टेनरको मात्रै हुने गरेको छ।
कन्टेनरको चाप बढेसँगै नाकामा व्यवसायी र स्थानीय चालकबीच विवादसमेत हुन थालेको छ। आइतबार चीनतर्फबाट सामान राखेर फर्किएका दुई कन्टेनरको अगाडिको भाग कुच्चिएपछि व्यवसायी र स्थानीय चालकबीच विवाद भएको थियो। स्थिति तनावपूर्ण बन्न थालेपछि प्रहरीले हस्तक्षेप गरी विवाद साम्य पारेको थियो।
कोरला नाकाबाट चीनतर्फ करिब २ सय मिटर क्षेत्रसम्म अस्थायी पास भएका मुस्ताङका स्थानीय बासिन्दामात्र जान पाउने व्यवस्था छ। चीनको भन्सारबाट नेपालतर्फ कन्टेनर ल्याउने स्थानीय चालकले प्रतिकन्टेनर ४ हजार रुपैयाँ लिने गरेका छन्। हाल यस्तो पास भएका चालकको संख्या करिब ६० रहेको छ।
कन्टेनरको संख्या बढ्दै गएपछि नाकामा खटिएको सुरक्षा जनशक्तिमाथि पनि चाप थपिएको छ। हाल सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ४५ जनाको टोली नाका व्यवस्थापनमा खटिएको छ। तर, दैनिक कन्टेनरको चाप बढेपछि यही जनशक्तिबाट व्यवस्थापन गर्न कठिन हुने अवस्था आएपछि थप प्रहरी परिचालनको तयारी गरिएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले आवश्यक परे गण र गुल्मबाट थप जनशक्ति पठाउने व्यवस्था गरिएको बताएका छन्।
कोरला नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ स्थित नेचुङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी स्थापना गरिएको छ। प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली त्यहाँ कार्यरत छ। करिब ४ हजार ७ सय मिटर उचाइमा रहेको उक्त क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले सुरक्षाकर्मीका लागि पनि काम चुनौतीपूर्ण रहेको छ।
नाकामा व्यापारिक चापसँगै सडकको अवस्थाले पनि समस्या थपेको छ। जोमसोमदेखि कोरला नाकासम्म करिब १२० किलोमिटर सडक स्तरोन्नति गरी दुई लेनमा सञ्चालनमा ल्याइएको भए पनि कागबेनीदेखि कोरलासम्मको सडक अझै कच्ची छ। कन्टेनरको संख्या बढ्दा सडकमा लेदो र पहिरो खस्ने तथा केही घण्टा सवारी रोकिने अवस्था आउने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
हिउँदमा अवस्था झनै कठिन हुने देखिएको छ। कात्तिकदेखि फागुनसम्म हिमपातका कारण कोरला क्षेत्रमा आवागमन थप प्रभावित हुने गर्छ।
कन्टेनर बढे, चीन जाने नेपाली शून्य
कोरला नाकामा व्यापारिक सामानको चाप बढे पनि चीनतर्फ जाने नेपालीको संख्या भने शून्यजस्तै रहेको छ। अध्यागमन विभागका अनुसार भदौ १० देखि २९ गतेसम्म एक जनाले पनि चीन जानका लागि अध्यागमन अनुमति लिएका छैनन्।
नाकामा सशस्त्र प्रहरीको पोस्टसँगै भन्सार र अध्यागमन कार्यालयसमेत छन्। अध्यागमन कार्यालयमा सात जनाको दरबन्दी भए पनि मानिसको आवतजावत न्यून रहेकाले अधिकांश कर्मचारी जोमसोममै बस्ने गरेका छन्।
चीनले नेपाली नागरिकलाई समूहगत रूपमा भिसा दिने व्यवस्था गर्दै आएको छ। तर, हाल भोटेकोशी बाढीपछि तातोपानी नाका बन्द भएकाले व्यापारिक आवागमन कोरला नाकातर्फ केन्द्रित भए पनि यात्रु आवागमन बढ्न सकेको छैन।
चार गुणाले बढ्यो भन्सार राजस्व
कोरला नाकामा व्यापारिक गतिविधि बढेसँगै भन्सार राजस्व पनि ह्वात्तै बढेको छ। कोरला भन्सार प्रमुख विदुर चुडालका अनुसार अहिले दैनिक करिब २ अर्ब रुपैयाँ राजस्व संकलन भइरहेको छ।
यसअघि कोरला भन्सारबाट दैनिक करिब ५० करोड रुपैयाँ राजस्व संकलन हुने गरेको थियो। पछिल्लो समय सामानको चाप बढेपछि राजस्व संकलन करिब चार गुणाले बढेको हो।
तर, सामानको आवागमन बढेसँगै भन्सार यार्डसमेत भरिन थालेको छ। दैनिक भित्रिने कन्टेनर र जाँचपास हुने कन्टेनरबीच ठूलो अन्तर रहेकाले नाकामा सामान थुप्रिँदै गएको छ।
भोटेकोशी बाढीपछि तातोपानी नाका बन्द हुँदा चीनसँगको व्यापारिक आवागमनको ठूलो हिस्सा कोरलातर्फ सरेको हो। यसले एकातर्फ कोरला नाकाबाट हुने राजस्व संकलन बढाएको छ भने अर्कोतर्फ सीमित पूर्वाधार, सडक र जनशक्तिमाथि चाप थपिएको छ।
प्रतिक्रिया