मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग

मंगलबार, ३० भदौ २०८३, १६ : ३२

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य ९मुक्तिनाथ बाबा० द्धारा ११ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

मुक्तिनाथ बाबाको संरक्षकत्वमा रहेको अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट तथा मुक्तिनाथ परिवारको तर्फबाट उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

विपद्को कठिन घडीमा पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि राज्य, सामाजिक संस्था, धार्मिक संघसंस्था तथा आम नागरिकबीच राष्ट्रिय एकता, समन्वय र सहकार्य आवश्यक रहेको ट्रष्टले जनाएको छ ।

ट्रष्टले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग पुर्याउन नेपाल सरकारसँगको समन्वयमा थप मानवीय सहयोग जुटाउने जनाएको छ । त्यसका लागि नेपाल तथा विदेशमा रहेका नेपालीहरूलाई समेत स्वेच्छिक रूपमा राहत अभियानमा सहभागी हुन अपिल गरिएको छ ।

मुक्तिनाथ बाबाले विपद्को समयमा पीडित नागरिकको साथमा उभिन सबैलाई आह्वान गर्दै ‘सेवा नै परम धर्म हो’ भन्ने भावनाका साथ मानवीय सेवामा जुट्न आग्रह गर्नुभएको   छ ।

विपद् कुनै व्यक्ति, समुदाय वा क्षेत्रको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा पीडा भएकाले यस्तो अवस्थामा सहयोग, सहानुभूति र मानवीय सेवामार्फत पीडितको जीवनमा आशा जगाउनु सबैको साझा दायित्व भएको ट्रष्टले जनाएको छ ।

यस सहयोग रकम संकलनमा मुक्तिनाथ बाबाको संरक्षकत्वमा रहेको श्रीपञ्चमहालक्ष्मी मन्दिर श्रीपीठ भक्तपुर, श्रीगजेन्द्रमोक्ष दिव्यधाम नवलपरासी, श्रीपञ्चकोट विकास परिषद् बागलुङ, श्रीरामबेटेश्वर मन्दिर बागलुङ तथा श्रीमुक्तिनाथ सन्त सेवाश्रम पोखरा  लगायतका संस्थाहरूको योगदान रहेको छ ।
 

मंगलबार, ३० भदौ २०८३, १६ : ३२

प्रतिक्रिया