रसुवा जोड्न नुवाकोटको फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज बनाइँदै

मंगलबार, ३० भदौ २०८३, १५ : ०३

काठमाडौं– भोटेकोशी बाढीका कारण रसुवा सडक सञ्जालबाट विच्छेद भएपछि आवतजावत तथा अत्यावश्यक सामान ढुवानीमा समस्या भइरहेका बेला नुवाकोटबाट रसुवा जोड्ने वैकल्पिक मार्ग निर्माण प्रक्रिया अघि बढाइएको छ।

नुवाकोटको सूर्यगढी गाउँपालिका–२ तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५ वहाखोलासम्म फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण गर्ने प्रक्रिया अघि बढाइएको हो।

सम्बन्धित पालिका अध्यक्षको अनुरोधअनुसार बेलीब्रिज निर्माणका लागि मन्त्रालयबाट आवश्यक निर्देशन तथा सहजीकरण गरिएको जनाइएको छ।

बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट र रसुवा जोड्ने छोटो वैकल्पिक सडक मार्ग सञ्चालनमा आउने अपेक्षा गरिएको छ। उक्त मार्गबाट फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र रसुवाको धुन्चे करिब ३५ किलोमिटरको दूरीमा पुग्न सकिने बताइएको छ।

बाढीका कारण प्रभावित रसुवाको आवतजावत तथा सामान ढुवानी सहज बनाउन यो मार्ग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

मंगलबार, ३० भदौ २०८३, १५ : ०३

प्रतिक्रिया