सेयर बजार

पुँजी बजार सुधार कार्ययोजनाको प्रभाव सेयर बजारमा, नेप्से ४८ अंकले बढ्दा कारोबार रकम ८ अर्ब नाघ्यो

मंगलबार, ३० भदौ २०८३, १५ : २८

काठमाडौं– सरकारले सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ को सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ। लगानीकर्ताको मनोबल बढेसँगै मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले उकालो लागेको हो।

साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४८.५७ अंक अर्थात् १.८७ प्रतिशतले बढेर २ हजार ६३३.६२ विन्दुमा पुगेको छ। सोमबारको तुलनामा बजारमा खरिदकर्ता हाबी हुँदा परिसूचकसँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ।

मंगलबार ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर ७८ हजार ८६९ पटक किनबेच भएका छन्। दिनभरमा कुल ८ अर्ब २९ करोड १७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सोमबार भने बजारमा ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

सरकारको नयाँ कार्ययोजनाले लगानीकर्तामा उत्साह थपेपछि मंगलबार बजारमा व्यापक खरिद चाप देखिएको छ। कारोबारमा आएका कम्पनीमध्ये २६५ वटाको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। निर्जीवन बीमा उपसमूह सर्वाधिक २।८२ प्रतिशतले बढेको छ। वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूह २ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। त्यस्तै, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

मंगलबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १४।९६ प्रतिशतले बढेको छ। सिन्धु विकास बैंकको सेयर मूल्य ११ प्रतिशत तथा मल्टीपर्पस फाइनान्स कम्पनीको सेयर मूल्य ९।५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३२ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो।

त्यस्तै, शिवम् सिमेन्ट्सको ३१ करोड ५० लाख रुपैयाँभन्दा बढी र अपि पावर कम्पनीको करिब २८ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

मंगलबार, ३० भदौ २०८३, १५ : २८

प्रतिक्रिया