ट्रम्पको छोराको विवाहमा पुटिननिकट व्यापारीले किन गरे लाखौँ डलर खर्च ?

मंगलबार, ३० भदौ २०८३, १५ : २२

काठमाडौं - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर र उनकी श्रीमती बेट्टिनाले आफ्नो विवाहको केही खर्च रुसका एक व्यापारीले बेहोरेको पुष्टि गरेका छन्।

बीबीसीका अनुसार त्यस व्यवसायीको नाम उमर क्रेमलेभ हो, जसको सम्बन्ध रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ठ छ।

डोनाल्ड ट्रम्प जुनियर र बेट्टिनाको विवाह मे महिनामा भएको थियो।

अहिले दुवैले इन्स्टाग्राम पोस्टमार्फत उमर क्रेमलेभले बहामासको एक निजी टापुमा दुई रात सञ्चालित विवाह समारोहको आयोजना गरेको खुलासा गरेका हुन्। 

उमर क्रेमलेभ अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबीए) का अध्यक्ष हुन्। जसलाई ट्रम्पका छोरा(बुहारीले घनिष्ठ साथी भनेका छन्।

उनीहरूले यसलाई साथीबाट प्राप्त विवाहको उपहार भन्दै कृतज्ञता व्यक्त गरेका छन्।

यो खबरले ट्रम्प परिवारमा विदेशी प्रभावबारे अमेरिकी सञ्चारमाध्यमले प्रश्न उठाएका छन्।

यो खर्चका विषयमा पहिलोपटक प्रोपब्लिका रिपोर्टमा खुलासा गरिएको थियो।

प्रोपब्लिकाका अनुसार डोनाल्ड ट्रम्प जुनियर र बेट्टिना ट्रम्पले बहामासको एक निजी टापुमा विवाह गरेका थिए।

त्यसपछि अर्को टापुमा प्रतिरात १ लाख डलर तिरेर दुई दिन विवाह समारोह गरिएको थियो।

रिपोर्टअनुसार क्रेमलेभले समारोहसँग सम्बन्धित अन्य धेरै खर्च पनि बेहोरेका थिए। जसमा ७० हजार डलर त आतिशबाजीमा मात्र खर्च गरिएको थियो। 

आफ्नो अनुसन्धानका आधारमा प्रोपब्लिकाले क्रेमलेभले विवाहमा लाखौँ डलर खर्च गरेको उल्लेख गरेको छ।

अमेरिकी नैतिकताको निगरानी गर्ने धेरै संस्थाले यसप्रति चिन्ता व्यक्त गरेका छन्।

उनीहरू भन्छन्, ‘राष्ट्रपतिका छोराले त्यस्ता व्यक्तिबाट महँगो उपहार स्वीकार गरे, जसको सम्बन्ध रुसका राष्ट्रपति पुटिनसँग नजिक छ। ट्रम्प जुनियर सरकारी पदमा त छैनन् तर यो स्वार्थको द्वन्द्व जस्तै हो।’
ऐजेन्सी

मंगलबार, ३० भदौ २०८३, १५ : २२

प्रतिक्रिया