काठमाडौं- कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को नाम, आधिकारिक लेटरहेड, छाप तथा दर्ता–चलानी नम्बर अनधिकृत रूपमा प्रयोग गरी कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा सरकारी निकायमा पत्राचार भइरहेको भन्दै महासंघले आपत्ति जनाएको छ।
क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले एक विज्ञप्ति जारी गर्दै यस्तो गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले आधिकारिक पत्राचार विधान, संस्थागत निर्णय तथा सचिवालयको निर्धारित प्रक्रियाअनुसार अधिकारप्राप्त निकायबाट मात्रै हुने स्पष्ट पारेका छन्।
महासचिव भुर्तेलले जारी गरेको विज्ञप्ति अनुसार उक्त प्रक्रियाविपरीत जारी गरिएका कुनै पनि पत्र, निर्णय वा सूचना महासंघको आधिकारिक धारणा वा निर्णय होइनन्। महासंघको नाम, लेटरहेड, छाप तथा दर्ता–चलानी नम्बरको अनधिकृत प्रयोग तत्काल बन्द गर्न सम्बन्धित सबैलाई सचेत गराइएको छ।
यस्ता गतिविधि दोहोरिएमा वा त्यसबाट महासंघको प्रतिष्ठा, अधिकार तथा कामकारबाहीमा असर पुग्ने अवस्था सिर्जना भए सम्बन्धित व्यक्ति वा पक्षविरुद्ध महासंघको विधान तथा प्रचलित कानुनबमोजिम आवश्यक संस्थागत तथा कानुनी कारबाही अघि बढाइने महासंघले जनाएको छ।
महासंघले आफ्नो नामबाट प्राप्त कुनै पनि पत्राचार वा निर्देशनको आधिकारिकता सचिवालयबाट पुष्टि नगरी कार्यान्वयन नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, सरकारी निकाय, सदस्य संस्था तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध गरेको छ।
प्रतिक्रिया