काठमाडौं– अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व सहर सूचकांकमा अमेरिकाको न्युयोर्क पहिलो स्थानमा परेको छ। बेलायतको लन्डन दोस्रो र फ्रान्सको पेरिस तेस्रो स्थानमा रहेका छन्।
अक्सफोर्ड इकोनोमिक्सले विश्वका १ हजार ठूला सहरलाई अर्थतन्त्र, मानवीय पुँजी, जीवनस्तर, वातावरण र सुशासन गरी पाँच आधारमा मूल्यांकन गरी विश्व सहर सूचकांक तयार गरेको हो।
सूचकांकमा न्युयोर्कले १०० अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। लन्डनले ९८।८ अंकसहित दोस्रो र पेरिसले ९३।४ अंकसहित तेस्रो स्थान हासिल गरेका छन्।
शीर्ष १० मा अमेरिकाका न्युयोर्क, सियाटल, सान फ्रान्सिस्को, बोस्टन र सान होजे गरी पाँच सहर परेका छन्। आयरल्यान्डको डब्लिन छैटौँ, जापानको टोकियो नवौँ र स्विट्जरल्यान्डको ज्युरिख दसौँ स्थानमा रहेका छन्।
समग्र सूचकांकमा नेपालको राजधानी काठमाडौं ६८७औँ स्थानमा रहेको छ। पाँचवटै आधारमा गरिएको मूल्यांकनमा काठमाडौं अर्थतन्त्रतर्फ ६७०औँ, मानवीय पुँजीतर्फ ५६२औँ, जीवनस्तरतर्फ ८४०औँ, वातावरणतर्फ ६३९औँ र सुशासनतर्फ ६३५औँ स्थानमा रहेको छ।
जीवनस्तरमा क्यानबेरा अगाडि
जीवनस्तरको सूचकमा अस्ट्रेलियाको राजधानी क्यानबेरा पहिलो स्थानमा रहेको छ। यद्यपि समग्र विश्व सहर सूचकांकमा क्यानबेरा ४५औँ स्थानमा छ।
जीवनस्तर मूल्यांकन गर्दा मानिसको आम्दानी, आम्दानीको असमानता, घरभाडा तथा आवास खर्च, औसत आयु, अपराधको अवस्था, मनोरञ्जन तथा सांस्कृतिक सुविधालगायत पक्षलाई आधार बनाइएको छ।
अर्थतन्त्रमा अमेरिकी सहरको दबदबा
अर्थतन्त्र सूचकका शीर्ष आठमध्ये सात सहर अमेरिकाका रहेका छन्। यसमा न्युयोर्क, लस एन्जलस, सान होजे, सिएटल, सान फ्रान्सिस्को, डल्लास र वासिङ्टन रहेका छन्। लन्डन सातौँ स्थानमा छ।
मानवीय पुँजीतर्फ लन्डन पहिलो, दुबई दोस्रो, टोकियो तेस्रो, रियाद चौथो, न्युयोर्क पाँचौँ, आबुधाबी छैटौँ, पेरिस सातौँ र सेन्जेन आठौँ स्थानमा रहेका छन्।
वातावरण सूचकमा होनोलुलु पहिलो, फोर्टालेजा दोस्रो, बर्गेन तेस्रो, वेलिङ्टन चौथो, अराकाजु पाँचौँ, सुभा छैटौँ, स्टकहोम सातौँ र सान्ता क्रुज डे टेनेरिफे आठौँ स्थानमा छन्।
त्यस्तै सुशासन सूचकमा कोपनहेगन पहिलो, आर्हस दोस्रो, अकल्यान्ड तेस्रो, वेलिङ्टन चौथो, क्राइस्टचर्च पाँचौँ, हेलसिन्की छैटौँ, टाम्पेरे सातौँ र ओस्लो आठौँ स्थानमा रहेका छन्।
अक्सफोर्ड इकोनोमिक्सका अनुसार समग्र सूचकांकले कुनै एउटा पक्षलाई मात्र नभई सहरको आर्थिक अवस्था, जनशक्ति, बसोबास तथा जीवनस्तर, वातावरण र सुशासनको संयुक्त प्रदर्शन मापन गर्छ।
प्रतिक्रिया