काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा महँगी उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ।
यो पछिल्लो डेढ वर्षयताकै उच्च मुद्रास्फीति हो। यसअघि २०८१ मंसिरमा मुद्रास्फीति ६।०५ प्रतिशत पुगेको थियो। गत आर्थिक वर्षको साउनमा भने मुद्रास्फीति १.६८ प्रतिशत मात्रै थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत पुगेको छ। गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ५.५२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। गत वर्षको साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशत ऋणात्मक रहेको थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत सबैभन्दा बढी घिउ तथा तेलको मूल्य बढेको छ। साउनमा घिउ तथा तेलको उपभोक्ता मूल्य सूचकांक १५.६२ प्रतिशतले बढेको छ। यस्तै फलफूलको मूल्य १५.३९ प्रतिशत, माछा तथा मासुको ८।६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको मूल्य ४.८० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
महँगी बढे पनि बाह्य आर्थिक तथा वित्तीय क्षेत्र भने थप सुदृढ बन्दै गएको राष्ट्र बैंकले जनाएको छ। अर्थतन्त्रको गति अपेक्षाअनुसार विस्तार हुन नसकेको अवस्थामा बाह्य क्षेत्रका प्रमुख सूचकहरू सकारात्मक रहेको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकका अनुसार साउनसम्म कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २५ अर्ब ८४ करोड रहेको छ। विद्यमान विदेशी मुद्रा सञ्चिति १८।८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै समीक्षा अवधिमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ।
यसले एकातर्फ आन्तरिक बजारमा मूल्यवृद्धिको दबाब बढेको देखाए पनि अर्कोतर्फ विदेशी मुद्रा सञ्चिति, चालु खाता र शोधनान्तरजस्ता बाह्य क्षेत्रका सूचकहरू बलियो अवस्थामा रहेको देखाएको छ।
प्रतिक्रिया