अपडेट

त्रिपुरेश्वर बस आगलागी : एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

सोमबार, ०५ असोज २०८३, १७ : २४

काठमाडौं- त्रिपुरेश्वरमा यात्रुवाहक बसमा भएको आगलागी घटनाको छानबिन गर्न प्रहरी प्रशासनले समिति गठन गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । रानीपोखरीका एआईजी सुशील सिंह राठौरका अनुसार समितिलाई घटनाको वास्तविक कारण र अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ ।

रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आइतबार त्रिपुरेश्वरस्थित बस स्ट्यान्डमा आगलागी भएको थियो । आगलागीमा बस चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए ।

प्रहरीले तत्काल उद्धार गरी लामालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

प्रहरीले आगलागीको कारण, घटनाको अवस्था तथा सम्भावित लापरबाहीका विषयमा समेत छानबिन गर्ने जनाएको छ ।

सोमबार, ०५ असोज २०८३, १७ : २४

प्रतिक्रिया