काठमाडौं- भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण गर्न नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले पहल थालेको छ ।
बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधारमा क्षति पुगेको भन्दै नाडाले प्रभावित व्यवसायी तथा सदस्यहरूलाई आवश्यक सहयोग र समन्वय गर्ने जनाएको हो ।
नाडाका अनुसार बाढीका कारण भन्सार नाका लगायत विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुगेको, कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य व्यावसायिक सम्पत्तिमा समेत क्षति पुगेको जानकारी प्राप्त भएको छ ।
प्रभावित व्यवसायीलाई सहजीकरण गर्न नाडाले सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सम्बन्धित सरोकारवालासँग समन्वय गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
नाडाले बाढी तथा डुबानबाट प्रभावित सदस्य कम्पनीहरूलाई आफ्नो क्षतिको यथार्थ तथा प्रमाणित विवरण सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ । विवरणमा क्षति भएका तथा हराएका सवारीसाधन, सवारीसाधन रहेको स्थान र सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या तथा प्रकार, गोदाम र कार्यालयमा भएको क्षति, बीमा गरिएको सम्पत्ति, बीमा दाबीका लागि आवश्यक कागजात, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरण समावेश गर्न भनिएको छ ।
प्राप्त विवरणका आधारमा नाडाले अटोमोबाइल क्षेत्रमा भएको समग्र क्षतिको विवरण संकलन तथा अभिलेखीकरण गर्ने जनाएको छ । साथै, बीमा दाबी प्रक्रिया सहज बनाउन बीमा कम्पनीसँग तथा भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समन्वय गर्ने बताएको छ ।
त्यसैगरी प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन तथा अन्य सम्भावित सहजीकरणका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने नाडाको योजना छ ।
अटोमोबाइल क्षेत्रमा भएको क्षतिको समग्र विवरण सरकार तथा सम्बन्धित निकायसमक्ष प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाले जनाएको छ । यसका लागि आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी प्रभावित व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउने तयारीसमेत गरिएको छ ।
नाडाले प्रभावित सबै सदस्य व्यवसायीलाई यथार्थ क्षतिको विवरण यथाशीघ्र सचिवालयमा उपलब्ध गराई आवश्यक समन्वय तथा सहजीकरणमा सहयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया