नेपा एपमा थपिए १० भन्दा बढी नयाँ सुविधा, एउटै एपबाट स्क्यानदेखि कर हिसाबसम्म

आइतबार, १८ असोज २०८३, ०९ : १८

काठमाडौं- नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले आफ्नो नयाँ संस्करणमा दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ । एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ उपकरणहरू समावेश गरिएको हो ।

नेपा एपको नयाँ संस्करणमा पीडीएफ कागजात स्क्यान गर्ने, क्यूआर कोड स्क्यान गर्ने, इन्टरनेट गति परीक्षण गर्ने, महिनावारी चक्रको विवरण राख्ने, एकाइ रूपान्तरण गर्ने, हिसाब गर्ने, टिपोट तथा सम्झना गराउने, ऋण हिसाब गर्ने, आफ्नो स्थान पत्ता लगाउने र कर हिसाब गर्ने लगायतका सुविधा थपिएका छन् ।

नयाँ सुविधाअन्तर्गत प्रयोगकर्ताले मोबाइलबाटै आवश्यक कागजात स्क्यान गरी पीडीएफ बनाउन तथा विभिन्न क्यूआर कोड सजिलै स्क्यान गर्न सक्नेछन् । त्यस्तै, इन्टरनेट गति परीक्षण सुविधामार्फत मोबाइलको इन्टरनेट गति मापन गर्न सकिनेछ । एकाइ रूपान्तरण र हिसाब गर्ने उपकरणले दैनिक जीवनमा आवश्यक पर्ने सामान्य गणना तथा विभिन्न एकाइको रूपान्तरणलाई सहज बनाउनेछन् ।

विशेषगरी महिलाहरूका लागि उपयोगी हुने महिनावारी चक्र विवरण राख्ने उपकरणमार्फत महिनावारीको चक्र तथा सम्बन्धित मितिहरूको विवरण सुरक्षित राख्न सकिनेछ । यसबाट महिनावारी हुन सक्ने सम्भावित दिनको जानकारी तथा सम्झना गराउने सूचना प्राप्त गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।

त्यसैगरी, टिपोट तथा सम्झना गराउने सुविधामार्फत महत्वपूर्ण कुराहरू लेखेर सुरक्षित राख्नुका साथै आवश्यक समयमा सम्झनका लागि सूचना निर्धारण गर्न सकिनेछ । प्रयोगकर्ताले आफ्ना महत्वपूर्ण जानकारीलाई आवाजको टिपोटका रूपमा समेत सुरक्षित गर्न सक्नेछन् ।

ऋण हिसाब गर्ने उपकरणबाट ऋणको किस्ता तथा भुक्तानीसम्बन्धी सामान्य हिसाब गर्न सकिनेछ भने कर हिसाब गर्ने उपकरणले आम्दानी तथा करसम्बन्धी अनुमानित गणना गर्न सहयोग गर्नेछ । त्यस्तै, स्थानसम्बन्धी सुविधामार्फत प्रयोगकर्ताले आफ्नो स्थानको जानकारी प्राप्त गर्न सक्नेछन् ।

नेपा एपका अनुसार नेपाली प्रयोगकर्ताले दैनिक रूपमा आवश्यक पर्ने विभिन्न डिजिटल सेवाहरू एउटै एपबाट सहज रूपमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले नयाँ उपकरणहरू थप गरिएको हो । आगामी दिनमा पनि प्रयोगकर्ताको आवश्यकता र सुझावअनुसार थप उपयोगी सुविधा तथा उपकरणहरू थप गर्दै जाने एपले जनाएको छ ।

नेपा एपमा यसअघि नै नेपाली पात्रो, पञ्चाङ्ग, राशिफल, नेपाली समाचार, जिल्ला समाचार, नेपाली एफएम रेडियो, चर्चामा रहेका विषय तथा अन्य विभिन्न सामग्री उपलब्ध हुँदै आएका छन् । नयाँ उपकरण र आगामी सुविधाहरू थपिएसँगै नेपाली प्रयोगकर्ताका दैनिक आवश्यकता र उपयोगी जानकारी एउटै माध्यमबाट उपलब्ध गराउने लक्ष्य एपले लिएको छ ।

आइतबार, १८ असोज २०८३, ०९ : १८

प्रतिक्रिया