काठमाडौं- स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘पिंकवाक २०२६’ एक हजारभन्दाको बढी सहभागितामा भव्य रुपमा सम्पन्न भयो । सहभागीहरूले आज असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरमा भेला भई ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा गरे । पदयात्रीहरूले क्यान्सरसम्बन्धी सचेतना मूलक प्लेकार्डहरू बोकेर धिमेबाजा सहित पदयात्रा गरे ।
सहभागीहरूमा विशिष्ट अतिथिहरू अनुराधा कोइराला, मा. डा. ओजश्वी शेरचन, काठमाडौं महानगर का. वा. प्रमुख सुनिता डंगोल, पूर्वमन्त्री सुमना श्रेष्ठ, संगीतकर्मी काली प्रसाद बास्कोटा तथा मिस नेपाल दिपमाला दाहालले स्वागत मन्तव्य दिनुभएको थियो भने त्यसका बीच क्यान्सर केयरका डा. मदन पिया, डा. सन्ध्या, डा. रश्मीले क्यान्सरको पहिचान कसरी गर्ने, शरीरमा आउने परिवर्तनहरू र उपचारसम्बन्धी जानकारी दिए ।
कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सुगारिका केसीले गरे । पाटन दरबार क्षेत्रमा भएको समापन समारोहमा क्यान्सर जितेका व्यक्तिहरूले आफ्नो अनुभव सुनाउदै क्यान्सर जटिल रोग भए पनि समयमै उपचार गरे निको भई सामान्यरुपमा जीवनयापन सम्भव रहेको प्रेरणादायी सन्देश दिए ।
स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, समयमै उपचार तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धताको सन्देश फैलाउने उद्देश्यले आयोजना भएको पिंकवाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहको थियो।
यस कार्यक्रममा संकलित रकम आयोजकले क्यान्सर केयर नेपाललाई क्यान्सरपीडितहरूको सहयोगका लागि हस्तान्तरण गरिएको छ । पिंकवाक २०२६ इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गरेको हो। कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीलगायत संस्थाको सहयोग रहेको छ।
कार्यक्रमलाई नेशनल क्यान्सर अस्पताल, म्याक्स फाउन्डेसन, नोभाला बायोटेक, क्याम्स (Center for American Medical Specialists), ले मोनाल (Le Monal), स्नो ड्रप्स (Snow drops H₂O), नेट टिभी, उनो (Uno), ह्याप्पी माइन्डस्, वाउ (WOW – World of Women), जीभी (Jeevee), बर्स्ट निम्बू फिज्ज, हिमालयन जाभा, स्मृतिपत्र, झिगु नेवाः बाजं खलः, पठाओ, क्यू एफ एक्स (QFX), इसेवा, बज्र नासः खलः, ताल नृत्य भूमि, आइ एस एस (ISS), वानपसल (onepasal), क्रेयन्स् कोर्प (Crayons Corp.) तथा काठमाडौँ पोस्ट लगायत विभिन्न संस्था तथा व्यवसायले साझेदारी गरेका छन्।
स्तन क्यान्सरविरुद्धको सचेतना अभियानमा सामूहिक सहभागिता र ऐक्यबद्धता जनाउने सबैलाई पिंकवाक २०२६ आयोजक समितिले धन्यवाद व्यक्त गरेको छ ।
प्रतिक्रिया