अपडेट

पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध आक्रामक बन्यो बालेन सरकार, घरमै पुगेर सम्पत्ति शुद्धीकरणको छापा

बुधबार, २१ असोज २०८३, १५ : २८

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाराजगञ्जस्थित निवासमा पनि छापा मारेको छ ।

विभागको टोलीले बुधबार जबरानिकट मानिएका नारायण दाहाल, दीपक तिमल्सिना र नवीन बस्नेतलगायतका घरमा पुगेपछि जबराको निवासमा समेत पुगेर आवश्यक कागजात तथा प्रमाण संकलन गरिरहेको बताइएको छ ।

पूर्वप्रधानन्यायाधीश जबरालाई गत साता सरकारले सुरक्षा जोखिम रहेको भन्दै महाराजगञ्जस्थित निवासबाट प्रहरी नियन्त्रणमा लिएर टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याएको थियो । उनलाई केही समय हिरासतमा राखेर सोधपुछ गरिएको थियो।

जबरालाई नियन्त्रणमा लिएपछि उनको मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएर त्यसमा भएका गतिविधिबारे अनुसन्धान गरेको विवरण सार्वजनिक भएका छन् । जबरासँग जोडिएका विभिन्न व्यक्तिसँगको सम्पर्क र गतिविधिमाथि समेत अनुसन्धान भइरहेको जनाइएको छ।

बुधबार, २१ असोज २०८३, १५ : २८

प्रतिक्रिया