दाङ- बर्गदुवा खानेपानी उपभोक्ता संस्थाको दशौँ साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष पूर्णबहादुर शाहीको अध्यक्षतामा सम्पन्न सभाले सचिव र कोषाध्यक्षको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
सभामा खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख प्रकाश जग साह प्रमुख अतिथि तथा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा वडा अध्यक्ष रामप्रसाद चौधरी र महासंघका जिल्ला अध्यक्ष एवं घोराही खानेपानी संस्थाका अध्यक्ष ध्रुव केसीको पनि उपस्थिति थियो।
कार्यक्रममा प्रमुख अतिथि साहले जिल्लामा खानेपानी व्यवस्थापनका लागि बजेट तथा जनशक्तिको अभावका कारण विभिन्न समस्या देखिएको बताउनुभयो। उहाँले दाङमा खानेपानीको गुणस्तर सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, विशिष्ट अतिथि ओलीले सरकारले खानेपानी क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिँदा नागरिकको मौलिक अधिकार प्रभावित भइरहेको बताए। उनले बजेट विनियोजन गर्दा खानेपानी क्षेत्रका लागि दुई प्रतिशत बजेटसमेत छुट्याउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
ओलीले विद्युत् महसुलमा समेत उपभोक्ताले २० देखि ३९ प्रतिशतसम्म योगदान गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै खानेपानी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताए। उनले उपभोक्ता समिति खारेजी तथा उद्घाटनसम्बन्धी कानुनी व्यवस्थाप्रति पनि विरोध जनाए।
सभामा संस्थाका लेखा संयोजक प्रकाशचन्द्र घिमिरे, सल्लाहकारहरू बसन्तराज अधिकारी, फर्साराम नेपाली, नारायण राना, दानमाया शाही, खिमा अधिकारी र जयन्ता सिंह तामाङलगायतले मन्तव्य राखेका थिए।
संस्थाका सचिव यादवप्रसाद शर्माले सञ्चालन गरेको सभाले संस्थाका सचिव र कोषाध्यक्षको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो ।
प्रतिक्रिया