पहिरोले नदी थुनिएर फुट्दा बुढीगण्डकीमा आकस्मिक बाढी, २ लाख एसएमएसमार्फत पूर्वसूचना

आइतबार, २५ असोज २०८३, १६ : २८

काठमाडौं- गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जे क्षेत्रमा बुढीगण्डकी नदीको सहायक नदीमा पहिरोले नदी थुनिएर फुट्दा आकस्मिक बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ। बाढी पूर्वानुमान शाखाका अनुसार घटनास्थल आसपास पछिल्लो २४ घण्टामा छिटपुट मात्रै वर्षा भएकाले तत्कालीन वर्षाका कारण बाढी आएको सम्भावना देखिएको छैन।
बाढी पूर्वानुमान शाखाले आज बिहान ६ बजे घटनाबारे प्रारम्भिक जानकारी प्राप्त गरेको जनाएको छ। प्रारम्भिक सूचना र भू–उपग्रह तस्बिरको अवलोकनका आधारमा पहिरोले नदी थुनिएपछि एक्कासि फुटेर बाढी आएको हुन सक्ने अनुमान गरिएको हो। घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको शाखाले जनाएको छ।

बुढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा बिहान ६ः३० बजे २।२८ मिटर रहेको जलसतह बढेर ३।६६ मिटर पुगेको थियो। उक्त केन्द्रमा सतर्कता तह ४।५० मिटर र खतरा तह ५ मिटर रहेको छ। बिहान ७ः५० बजे जलसतह बढेर ५।०१ मिटर पुगेको थियो। त्यसपछि केही घटेको जलसतह पुनः तीव्र रूपमा बढ्दै बिहान ८ः३० बजे ६.२२ मिटर र ८ः४० बजे ८.४३ मिटर पुगेको थियो। त्यसलगत्तै बाढीले पुलसहित मापन केन्द्र बगाएकाले थप विवरण प्राप्त हुन नसकेको शाखाले जनाएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै सूचना प्राप्त हुनासाथ नदीको तटीय क्षेत्रदेखि बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो। बिहान करिब ८ बजे फेसबुक लाइभमार्फत थप जानकारी सार्वजनिक गर्दै जोखिमयुक्त बस्ती खाली गर्न र आवश्यकताअनुसार राजमार्ग तथा करिडोरमा आवागमन बन्द गर्न अनुरोध गरिएको थियो।

त्यसैगरी, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन तथा तनहुँ, चितवन र नवलपरासीका सम्भावित प्रभावित क्षेत्रमा समेत सावधानी अपनाउन आग्रह गरिएको थियो। बिहान ९ः२५ बजे पुनः एसएमएसमार्फत सूचना पठाउँदै सर्वसाधारण तथा सरोकारवालालाई सुरक्षित स्थानमा जान र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन अनुरोध गरिएको शाखाले जनाएको छ। यस अवधिमा दुई पटक गरी करिब २ लाख एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिएको थियो।

बुढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज साँझसम्मै नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। नदीको बहाव घटेको देखिए पनि जोखिम पूर्ण रूपमा नटरेको भन्दै पुल तथा जोखिमयुक्त सडकमा आवागमन नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

घटनाको थप प्राविधिक विश्लेषणबाट प्राप्त निष्कर्ष र बाढीको अवस्थाबारे अद्यावधिक जानकारी सार्वजनिक गरिने बाढी पूर्वानुमान शाखाले जनाएको छ।

9e7dd111-c29f-4ae4-a6e4-ba0e07893de7

आइतबार, २५ असोज २०८३, १६ : २८

प्रतिक्रिया