काठमाडौं- नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत एफटीटीएच इन्टरनेट प्याकेज जडान शुल्कमा छुट, मोबाइल डेटा तथा भ्वाइस प्याकेजमा सहुलियतलगायतका सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क तिर्नुपर्ने छैन । त्यस्तै, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सुविधा पाउनेछन् । यससँगै बोनसका रूपमा उपलब्ध हुने मोबाइल डेटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिनेछ । भर्चुअल सेट–टप बक्ससहितको प्याकेजमा एक हजार रुपैयाँ छुटको व्यवस्था पनि यथावत् रहेको कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत जीएसएम मोबाइल सेवाका ग्राहकले ४९९ रुपैयाँमा पाँच जीबी डेटा सुविधासहितको ‘फेस्टिभल अनलिमिटेड’ र ६९९ रुपैयाँमा १० जीबी डेटा सुविधासहितको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज खरिद गर्न सक्नेछन् ।
‘फेस्टिभल अनलिमिटेड’ प्याकेजमा दैनिक पाँच जीबी डेटा खपत भएपछि बाँकी समयावधिमा दुई एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ । त्यसैगरी, ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेजमा दैनिक १० जीबी डेटा खपत भएपछि बाँकी समयावधिमा तीन एमबीपीएस गतिमा इन्टरनेट चलाउन सकिने कम्पनीले जनाएको छ ।
त्यस्तै, २५० रुपैयाँमा एक हजार मिनेट अल–नेट भ्वाइस सुविधासहितको ‘जोयफुल मिनेट्स’ र ९९ रुपैयाँमा एक हजार अन–नेट एसएमएस सुविधासहितको ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि उपलब्ध हुनेछ । यी सबै प्याकेजको समयावधि ३० दिनको हुनेछ ।
नेपाल टेलिकमका अनुसार मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकले २०८३ असोज ३० देखि कात्तिक ३० गतेसम्म अफरको सुविधा लिन सक्नेछन् । ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्नेछन् ।
चाडपर्वको अवसरमा ग्राहकलाई सहुलियतपूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यस अफरले परिवार तथा आफन्तसँग सम्पर्कमा रहन, खुसी साटासाट गर्न र डिजिटल सेवाको प्रयोग बढाउन प्रोत्साहन गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया