बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाँचौँ साधारणसभा सम्पन्न

आइतबार, २५ असोज २०८३, ०९ : १७

काठमाडौं– पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ स्थित बेलाहानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आर्थिक वर्ष २०८२/८३ मा ५ लाख ४३ हजार ६३४ रुपैयाँ खुद बचत गरेको छ। संस्थाको पाँचौँ वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार उक्त अवधिमा १ करोड ८ लाख ४४ हजार रुपैयाँ आम्दानी र १ करोड ३ लाख १ हजार रुपैयाँ खर्च भएको छ।

शनिबार संस्थाको प्राङ्गणमा आयोजित साधारणसभा संस्थाका अध्यक्ष क्या. मानबहादुर थापाको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वली विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

सभालाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले सबै उपभोक्ताको घरमा शुद्ध खानेपानी पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको बताए। उनले नगर क्षेत्रका साढे आठ हजार घरधुरीमा ‘एक घर, एक धारा’ पुर्‍याउने अभियानलाई तीव्रता दिइएको उल्लेख गर्दै खानेपानीको मुहानदेखि उपभोक्ताको मुखसम्म स्वच्छ र गुणस्तरीय पानी पुर्‍याउन आवश्यक रहेको बताए।

खानेपानी नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका कारण धारा जडान गर्न नसक्ने विपन्न परिवारलाई नगरपालिकाले अनुदान उपलब्ध गराएर भए पनि धारा जडान गर्ने स्पष्ट पारे।

कार्यक्रमका विशिष्ट अतिथि महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले खानेपानी नागरिकको संवेदनशील मौलिक अधिकार भए पनि सरकारले यस क्षेत्रलाई पर्याप्त प्राथमिकता दिन नसकेको बताए। खानेपानीजस्तो महत्त्वपूर्ण विषयको कार्यक्रममा सरकारी प्रतिनिधिको उपस्थिति कमजोर हुनु र उपभोक्ता संस्थाहरूले मात्रै ठूलो जिम्मेवारी वहन गर्नुपर्ने अवस्था चिन्ताजनक रहेको उनको भनाइ थियो। उनले स्वास्थ्य र शिक्षाभन्दा पनि खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गरे।

संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार बृहस्पति अधिकारीले चालु आर्थिक वर्षभित्र थप बोरिङ जडान गरी सबै उपभोक्ताको घरमा शुद्ध खानेपानी पुर्‍याउन सके महत्त्वपूर्ण उपलब्धि हुने बताए। संस्थाको विकास र विस्तारका लागि आवश्यक सहयोग गर्न आफू सधैँ तयार रहेको उनले प्रतिबद्धता जनाए।

सभामा अध्यक्ष थापाले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको कार्यक्षेत्रभित्रका अति विपन्न ५० घरपरिवारलाई २० प्रतिशत छुटमा धारा जडान गर्ने योजना समावेश छ। त्यसैगरी, आवश्यक खानेपानी मिटर खरिद गर्ने, ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिन पाइप खरिद गर्ने तथा खानेपानी सुरक्षा योजनाअन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने भावी योजना पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

संस्थाका सचिव वन्दुराज पौड्यालले स्वच्छ खानेपानी वितरणमा संस्था प्रतिबद्ध रहेको बताए। उनले पानीमा रहेका हानिकारक तत्त्व निष्क्रिय पार्न स्किम नम्बर २ अन्तर्गत कञ्चनपुर र पाल्डाँडामा डोजिङ मेसिन जडान गर्ने जानकारी दिए।

कोषाध्यक्ष कृष्ण क्षेत्रीले आर्थिक वर्ष २०८२/८३ को आयव्यय विवरण प्रस्तुत गर्दै संस्थाको कुल आयव्यय विवरण २ करोड ४० लाख ९ हजार रुपैयाँ बराबर रहेको जानकारी दिए। त्यस्तै, लेखा सुपरिवेक्षण समितिका संयोजक नदीकेशर शर्माले संस्थाको लेखा प्रणाली व्यवस्थित र पारदर्शी रहेको बताए।

कार्यक्रममा बर्दघाट नगरपालिका–१ का वडाध्यक्ष सन्दीप सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए। संस्थाका उपाध्यक्ष विशाल अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव पौड्यालले गरेका थिए।

२०६६ सालमा स्थापना भएको बेलाहानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले २०७७ सालदेखि खानेपानी वितरण गर्दै आएको छ। संस्थाले हालसम्म करिब २ हजार २५८ घरधुरीमा धारा जडान गरिसकेको छ। चारवटा डिप बोरिङ तथा ४५० र २२५ घनमिटर क्षमताका दुईवटा ओभरहेड ट्याङ्कीमार्फत संस्थाले उपभोक्तालाई चौबीसै घण्टा खानेपानी वितरण गर्दै आएको छ।

आइतबार, २५ असोज २०८३, ०९ : १७

प्रतिक्रिया