गोरखा– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको ठूलो बाढीले गोरखाको माछिखोला बजारमा ठूलो क्षति पुर्याएको छ। बाढीले केरौंजा जाने झोलुङ्गे पुल बगाउनुका साथै सल्लेरी र जगत बजारमा समेत क्षति पुर्याएको छ।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा शनिबार राति सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ। स्थानीयका अनुसार नदी थुनिने र खुल्ने क्रम जारी रहेकाले पानीको बहावमा उतारचढाव भइरहेको छ।
नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। बाढीले तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले आइतबार बिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव बढेको जानकारी दिएका छन्। बाढी तल्लो तटीय क्षेत्रतर्फ गइरहेको उल्लेख गर्दै उनले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न सबैलाई आग्रह गरेका छन्।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण तथा मानवीय क्षतिबारे भने थप जानकारी प्राप्त हुन बाँकी छ।
प्रतिक्रिया