एकता प्रगति संस्था नेपालको पहिलो सरसफाइ अभियान सम्पन्न (तस्बिरहरू)

आइतबार, २५ असोज २०८३, ०९ : १२

काठमाडौं– एकता प्रगति संस्था नेपाल (युपीओ) ले आफ्नो पहिलो सामाजिक अभियानअन्तर्गत गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरीनागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको सुन्दरीमाई मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको स्वच्छता कायम गर्ने, वातावरण संरक्षण गर्ने र सामाजिक उत्तरदायित्वप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले उक्त कार्यक्रम आयोजना गरेको हो।

सरसफाइ कार्यक्रममा संस्थाकी अध्यक्ष अस्मिता खत्री, कोषाध्यक्ष रविन्द्र खड्का तथा सदस्यहरू बिनिता खत्री र रमेश बुढाको सहभागिता रहेको थियो। संस्थाका पदाधिकारी तथा सदस्यहरूले मन्दिर परिसरको सरसफाइ गर्दै सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा सुन्दरीजल शिवपुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायण श्रेष्ठ र सदस्य ऋषिराम खत्रीको पनि उपस्थिति रहेको थियो। संस्थाका सामाजिक गतिविधिबाट प्रेरित स्थानीय युवा सञ्जय तामाङसहित विभिन्न स्थानीय समाजसेवी तथा अगुवाहरूले समेत अभियानमा सहभागिता जनाएका थिए।

सरसफाइ अभियानमा महेश्वर फुयाल, टीआर नेपाल, गोपाल बिष्ट, श्रीकृष्ण फुयाल र विजय तामाङलगायतको उपस्थिति रहेको संस्थाले जनाएको छ। स्थानीय युवा, समाजसेवी र विभिन्न सरोकारवालाको सहभागिताले सामुदायिक सहकार्य र सामाजिक उत्तरदायित्वको महत्त्वलाई उजागर गरेको संस्थाको भनाइ छ।

संस्थाको पहिलो कार्यक्रमका रूपमा सम्पन्न अभियानले धार्मिक तथा पर्यटकीय क्षेत्रलाई स्वच्छ, सफा र सुन्दर राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, वातावरण संरक्षण र सार्वजनिक स्थलको सरसफाइप्रति स्थानीय समुदायमा जागरुकता बढाउन पनि कार्यक्रमले योगदान पुर्‍याउने विश्वास संस्थाले लिएको छ।

एकता प्रगति संस्था नेपालले आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका विभिन्न क्षेत्रमा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। स्थानीय समुदायसँग समन्वय र सहकार्य गर्दै सामाजिक अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्यसमेत संस्थाले राखेको छ।

‘एकता हाम्रो शक्ति हो, प्रगति हाम्रो लक्ष्य’ भन्ने मूल नारासहित अघि बढेको संस्थाले सीमान्तकृत, पछाडि पारिएका तथा आवश्यकतामा रहेका समुदायको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पहिलो सरसफाइ अभियानलाई सामाजिक सेवाको यात्राको सुरुवातका रूपमा लिँदै संस्थाले आगामी दिनमा पनि समुदायको सक्रिय सहभागितामा सकारात्मक परिवर्तनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

आइतबार, २५ असोज २०८३, ०९ : १२

प्रतिक्रिया